सुन्दै अाङ जिरिङ्ग हुने घटना होटल मालिकले कामदार युवतीको घाँटी रेटे



काँकरभिट्टा - मेचीनगर नगरपालिका १० काँकरभिट्टाका एक होटल सञ्चालकले कामदार महिलाको शनिबार विहान राति घाँटी रेटेर हत्या गरेका छन् । सिलोङ होटलका सञ्चालक २६ वर्षीय विजय लामाले केही महिनादेखि होटलमा काम गर्दै आएकी मजदुर बिर्तामोडकी २० वर्षीया मन्दिरा विकको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । 

इप्रका काँकरभिट्टाका प्रमुख अर्जुन तिमल्सिनाका अनुसार हत्यामा संलग्न विजय र उनका सहयोगी कुमार तामांग शनिबार विहानै पक्राउ परेका छन् । विजयकी आमा माया लामा हत्या भएको बेलामा डेरामा सुत्न गएकी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । त्यसबखत उक्त होटलमा विजय, मन्दिरा र अर्का कामदार कुमार तामाङ रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार मादक पदार्थ पिएका उनीहरुमध्ये मन्दिराले विजयलाई सामान चोरेको आरोप लगाएपछि विजयले उनको घाँटी रेटी हत्या गरेको इप्रका काँकरभिट्टाका प्रमुख डिएसपी तिमल्सिनाले बताए । राति १ बजे हत्या गरेपछि उनको शव विजय र कुमारले होटलदेखि केही टाढा नालामा फालेर भाग्ने क्रममा स्थानीयको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । 

उनीहरु दुबैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरीका अनुसार विजय र कुमारसँगै विजयकी आमा माया र उनका अर्का छोरा मनोजलाईसमेत अनुसन्धानका लागि पक्राउ गरिएको छ । तर हत्यामा उनीहरुको संलग्न नदेखिएको इप्रका काँकरभिट्टाले जनाएको छ । उनीहरुलाई होटलमा अनैतिक गतिविधि सञ्चालन गरेको आशंकामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।