विराटनगर, जेठ ६– धर्मछोरी बलात्कार गरेको आरोपमा नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस मोरङका तत्कालिन अध्यक्ष गोपाल शर्मालाई मोरङ जिल्ला अदालतले साढे ८ वर्ष कैद सजाय सुनाएको छ ।जिल्ला अदालतमा दायर जबरदस्ती करणी र हाडनाता करणी मुद्दामा बुधबार विराटनगर ११ हाटखोला निवासी शर्मालाई ७५ हजार क्षतिपुर्ति भराउने र साढे ८ वर्ष कैद गर्ने फैसला भएको हो ।
जिल्ला अदालतका एक नम्बर न्यायधिश शेखरप्रसाद पौडेलको ईजलासले ६ महिनादेखि बिचाराधिन मुद्दाको बुधबार फैसला गरेको हो । शर्मालाई मुलुकी ऐनको जबरदस्ती करणी महल अन्तर्गत ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपुर्ति भराउने र ८ वर्ष ६ महिना कैद गर्ने फैसला भएको अदालतका श्रेष्तेदार धुव्रकुमार ढकालले जानकारी दिए ।
ट्रेड युनियन काँग्रेसका तात्कालिन मोरङ अध्यक्ष रहेका शर्माले धर्मछोरी बनाएर राखेकी बालिकालाई धाकधम्की दिँदै पटक–पटक बलात्कार गर्ने गरेको खुलेको थियो । १५ वर्षीया बालिकाले मोरङ प्रहरीमा २०७१ भदौ ३१ गते धर्मबाबु शर्मा विरुद्ध किटानी जाहेरी दिएकी थिईन् । जाहेरीमा अनुसन्धान गरि प्रहरीले असोज १ गते अदालतमा हाडनाता जबरदस्ती करणीमा मुद्दा दर्ता गराएको थियो ।
आफूबिरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएको थाहा पाएपछि फरार भएका शर्माले आर्थिक प्रलोभनमा मुद्दा सामसुम पार्ने प्रयास गरेका थिए । तर, पीडितले कानुनी कार्वाहीको अडान नछाडेपछि शर्माले मंसिर ११ गते अदालतमा आत्मसमर्पण गरे । अदालतले उनलाई मंसिर १२ गते पुर्पक्षका लागि कारागार पठाएको थियो । निरन्तर सुनवाई हुनुपर्ने संबेदनशिल मुद्दामा प्रतिवादी कानुन व्यवसायीहरुले पटक–पटक पेशी सारेपछि अदालतले पेशी नसार्न गत चैत १८ गते कानुन व्यवसायीहरुलाई आदेश नै गरेको थियो ।
मुद्दामा वादी (पीडित)को तर्फबाट सरकारी वकिलहरु राजेक कटवाल र प्रकाश गौतमसहित अधिवक्ताहरु हेमराज पन्त, मदन पन्त, लिला सुबेदी, रमेश बाँस्तोला, प्रेमप्रसाद घिमिरे, निर्मला अर्याल, जनकबहादुर पुरी, भरत कटुवाल, पुरुषोत्तम नेपाललगायतले बहस गरेका थिए । यसैगरी प्रतिबादी (पीडक) को तर्फबाट भरत थापा, नारायण बस्ती, शिवराज चौहान, प्रकाशबाबु पन्तलगायतले बहस गरेका थिए ।
शर्मा हाल मोरङ कारागारमै छन् । आरोपी शर्माले मुद्दा मिलापत्र गराउन पीडित पक्षलाई लाखौं रुपैयाँको प्रलोभन दिनुको साथै पार्टीको शक्ति पनि प्रयोग गरेका थिए । सुरुमा नेपालभित्रै लुकेर बस्दै आएका आरोपी शर्मालाई सत्तापक्षको संरक्षको कारण पक्राउ नगरेको विषय व्यवस्थापिका संसदमा पनि उठेपछि उनी भागेर भारत गए । उनलाई खोज्दै प्रहरी भारतको आसामा पुगेपछि प्रहरीबाट जोगिन नसक्ने ठहर गर्दै उनी अदालतमा हाजिर भएका थिए ।
मोरङका बिभिन्न संघसंस्था र महिला संगठनहरुले पनि आरोपी शर्मालाई पक्राउ गरि कानुनी कार्बाही गर्न दबाब दिएका थिए । व्यवस्थापिका संसदमा सभासदहरु अमनलाल मोदी र शिवकुमार मण्डलले शर्मालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै आवाज उठाएपछि शर्मालाई पक्राउ गर्न सरकारमाथि दबाब परेको थियो ।
