ओबामाको छोरीसँग विहे गर्न केन्याली वकिलको अनौठो प्रस्ताव .. ५० गाई, ७० भेडा र ३० वटा बाख्राको प्रस्ताव

काठमाडौं, जेठ १३ – केन्याका एक वकिलले अमेरिकी राष्ट्रपति बाराक ओबामाकी १६ वर्षीया छोरी मालियासँग विहे गरेवापत् ५० वटा गाई, ७० वटा भेँडा र ३० वटा बाख्रा दिने अनौठो प्रस्ताव गरेका छन् ।

फेलिक्स किप्रोनो नामक ती वकिलले यस्तो प्रस्ताव गरेका हुन् । नाइरोबीको एक पत्रिकासँग अन्तरवार्ता दिँदै किप्रोनोले भने, ‘म सन् २००८ देखि उनीसँग विवाह गर्न चाहन्थे ।’ त्यतिबेला ओबामा पहिलोपटक राष्ट्रपतिको पदका लागि चुनाव लडिरहेका थिए भने मालिया केवल १० वर्षकी थिइन् । ‘मैले मालियाकै लागि भनेर अझैसम्म कसैसँग प्रेम गरेको छैन,’ उनले भने । केन्याको पहिलो भ्रमणमा आउँदा राष्ट्रपति ओबामाले आफ्नो छोरीलाई पनि साथमा ल्याउनेमा उनी आशावादी छन् । त्यही बेला विवाहको प्रस्ताव राख्ने उनको तयारी छ । ओबामाका हजुरआमा केन्याली हुन् । ९० वर्षीया उनी पश्चिमी केन्याको कोगेलोमा बस्छिन् । त्यहाँ ओबामाका कयौं नातेदारहरु रहेका छन् । ‘म अहिले राष्ट्रपतिलाई केन्या आउँदा छोरीलाई पनि साथमा ल्याउनुहोला भनेर चिठ्ठी लेख्दैछु,’ उनले भने । किप्रोनोले पैसाको लागि यस्तो नगरेको बताउँछन् । विवाह पछि मालियालाई गाई दुहन र मकैको परिकार बनाउन सिकाउने धोको रहेको उनले बताए ।