पाकिस्तानी राष्ट्रपतिको छोरालाई लक्षित गरी आक्रमण, तीनको मृत्यु

क्वेटा (पाकिस्तान), जेठ ११ – पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार अबेर राति पाकिस्तानी राष्ट्रपतिका छोरा लक्षित एक आक्रमण भएको छ । सो आक्रमणमा परी तीन व्यक्तिको मृत्यु भएको छ । बलुच पृथकतावादीहरुले पाकिस्तानी राष्ट्रपतिको छोरालाई लक्षित गरी गरिएको यस आक्रमणमा

परी तीन व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार प्रहरी अधिकारी घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । पाकिस्तानी राष्ट्रपति ममनुन हुसेनका छोरा सलमान ममनुन आइतबार अबेर राति कराचीको सीमामा पर्ने औद्योगिक क्षेत्र नजिकैको इलाका गएको अवस्थामा उनको कारलाई लक्षित गरी सडक किनारमा रहेको एक मोटरसाइकलमा जडान गरिएको विस्फोटक पदार्थलाई दूरनियन्त्रित यन्त्रले विस्फोटन गराइएको बताइएको छ । उक्त विस्फोटन सलमानको कारलाई लक्षित गरी गराइएको स्थानीय प्रहरी अधिकारी गुलाम मुस्ताफा साहले एएफपी समाचार समितिलाई बताएका छन् । मुस्ताफाका अनुसार सो आक्रमणमा सलमान भने बाँचेका र उनको कार अगाडि नै दुर्घटना भएको स्थलबाट पार भइसकेको थियो । तर सो आक्रमणमा परी अन्य सवारी साधानका चालक, एक बालक र बाटो हिँड्दै गरेका बटुवाको मृत्यु भएको जनाइएको छ । वरिष्ठ प्रहरी अधिकारी जहिद उल्लाहले यस घटनाको पुष्टि गर्नुहुँदै राष्ट्रपतिका छोरा सलमानको सो क्षेत्रमा डेरी फार्म भएको र उनले सो इलाका बारम्बार भ्रमण गर्ने जानकारी दिएका छन् । सो आक्रमणमा राष्ट्रपतिको छोरा लक्षित नै भएको पनि उल्लाहले पुष्टि गरेका छन् । बुलुच लिबरेसन आर्मी (बिएलए) का प्रवक्ता मेएराक बुलुचले टेलिफोनमार्फत एएफपी समाचार समितिसँग यस आक्रमणको जिम्मा लिएका छन् । ‘हामी यस आक्रमणको जिम्मा लिन्छौँ बलुचिस्तानको विभिन्न इलाकामा भएको सैनिक कारबाहीको यो जवाफ हो’ मेएराक बलुचले एएफपीलाई बताएको बताइएको छ । प्राकृतिक स्रोतले धनी बलुचिस्तान प्रान्त पाकिस्तानको चार ठूला प्रान्तमध्ये एक हो । बलुच विद्रोहीहरु सन् २००४ देखि राज्यविरुद्ध सुरु गरेको द्वन्द्वका कारण सयौँ सैनिक र आतङ्ककारी मारिएका छन् ।