'सुरक्षित घर यसरी बनाउन सकिन्छ';;हेर्नुहोस
काठमाडौं : विज्ञहरूले भूकम्पीय जोखिम घटाउन घर निर्माणको परम्परागत शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन्। जीवन बचाऔं र अर्थतन्त्रमा प्रभाव पारौं भन्ने मन्त्र लिएर आकस्मिक भूमिका निर्वाह गर्दै मियामोतो इन्टरनेसनल (ग्लोबल भूकम्पीय संरचना इन्जिनियरिङ कम्पनी) का विज्ञहरूले भूकम्पबाट क्षतिग्रस्त घरहरू अवलोकन गरेपछि निर्माण शैलीमा परिवर्तन आवश्यक भएको बताएका हुन्।
यो संस्थाले नेपालमा भूकम्प गएको ४८ घन्टाभित्र विज्ञ पठाएको थियो। वैशाख १२ गते आएको ७.८ रेक्टर स्केलको भूकम्प तथा यसपछिको पराकम्पनले देशको सम्पूर्ण सामाजिक, आर्थिक पक्षलाई असर पारेको छ।
मियामोतो इन्टरनेसनलले चर्केका, भत्किएका र अर्ध क्षति भएका धेरै खाले संरचनाको अवलोकन गरेको छ। क्षति पुगेका तथा बाँकी रहेका संरचना तथा घरहरूलाई कसरी भूकम्प प्रतिरोधी, बलियो र पुनर्निर्माण गर्ने भन्ने जानकारी प्रदान गरेको छ।
हालै भूकम्पले ध्वस्त भएका गाउँहरूको भ्रमणपछि मियामोतोका प्रमुख कार्यकारी अधिकृत डा. एच. किट मियामोतोले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, 'राम्रो प्रविधिबाट बनाइएमा इँटा र ढुंगाको जोडाइ पनि राम्रै हुन्छ तर प्रविधि राम्रो भएन भने यो खतरनाक पनि हुन सक्छ।'
यसै सन्दर्भमा उनको कम्पनीले ट्रान्जिसन स्टिल स्ट्रक्चर सिस्टमको विकास गरेको छ, जसलाई गाउँहरूमा स्थायी घरको लागि प्रयोग गर्न सकिने उनले बताए। 'त्यसो त नेपालको संस्कृति र परम्परालाई कायम राख्दै नयाँ निर्माण गर्न मुस्किल छ तापनि सुरक्षित तथा कम लागतमा निर्माण गर्ने तरिका भने छन्', उनले भने।
मियामोतोका सहकर्मी तथा न्युजिल्यान्ड अफिसमा कार्यरत जितेन्द्र बोहराले भने, 'इँटा जोडेर बनाइने परम्परागत शैलीलाई बदलेर थप सुरक्षित र राम्रो बनाउन सकिन्छ, यो प्रविधिमा विगतमा जस्तो भूकम्पले क्षति पु:याउन सक्दैन। यो प्रविधिले राम्रो योगदान दिनुका साथै अपेक्षाकृत कम मूल्यमा घर तयार पार्न सकिन्छ।'
मियामोतोसँग हाइटी, जापान र चीनदेखि टर्की, इटाली, न्युजिल्यान्डसम्मको भूकम्पपछिको पुनर्निर्माणको अनुभव छ।
सन् २०१० मा गएको ७.० रेक्टर स्केलको भूकम्पपछि मियामोतोले चार लाख ३० हजार भवनको निरीक्षण तथा १२ हजार घर पुनर्निर्माण गरेका थिए। मियामोतोका ११ मुलुकमा १८ वटा अफिस छन्।
