श्रीमतीको हत्या गरी रामबहादुरले गरे आत्महत्या

१९ जेठ,  तम्घास । गुल्मीको रेसुंगाका एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेका छन् । रेसुंगा नगरपालिका-१२ सिमीचौरका ३५ वर्षीय रामबहादुर नेपालीले मंगलबार विहान ३० वर्षीया श्रीमती लक्ष्मीको घाँटी थिचेर हत्या गरी आफूले आत्महत्या गरेका हुन् ।
रामबहादुरले श्रीमतीको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक हरि हमालले जानकारी दिए ।
उनीहरुका ११ महिने छोरीसहित १४ र ११ वर्षका दुई छोरा छन् । आमा बुवाको मृत्युपछि उनीहरुको बिचल्ली भएको छ । उनीहरु आफन्तसँग बसेका छन् ।
रामबहादुर मिर्गौला रोगबाट पीडित थिए । सोमबार बेलुकी रामबहादुर र लक्ष्मीबीच सामान्य झगडा भएको थियो । उपचारका लागि पैसा जुटाउने विषयमा झगडा हुँदा आवेगमा आएर उनले श्रीमतीको हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरी निरीक्षक हमालले घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।