साढे ६० घण्टा भाषण गरेर विश्वकिर्तिमान

nnn
पेशाले उनी प्याथोलोजिस्ट हुन् । तर उनले बेग्लै विधामा विश्वकिर्तिमान कायम गरेका छन् । उनले कुनै किटाणु विज्ञानको विषयमा होइन, भाषण गर्ने काममा विश्वकिर्तिमान कायम गरेका हुन् ।
भारतको कोरबा सहरका बासिन्दा डाक्टर अजय शेषले लगातार ६० घण्टा ३० मिनेटसम्म भाषण ठोकेर विश्वकिर्तिमान कायम गरेका छन् । यसअघि ४९ घण्टा ३९ मिनेट म्याराथन भाषणको आफ्नै किर्तिमान उनले भंग गर्न सफल भएका हुन् ।
मुम्बइको वर्लीस्थित एक होटलमा अजयले साढे ६० घण्टा लगातार भाषण गरेर विश्वरेकर्ड कायम गरे । गत मे २७ तारखेमा दिउसो ३ बजेर ४४ मिनेटबाट भाषण सुरु गरेका अजयले ३० मे को दिउसो ४ बजेर १३ मिनेटसम्म लगातार भाषण गरे । उनको भाषणको अनुगमन अन्तराष्ट्रिय संस्था मेडिट्रान्सले गरेको थियो र उक्त संस्थाका निर्देशक निकुन्ज चान्डकले अजयको किर्तिमानी भाषणको पुष्टि गरेका छन् ।
डाक्टर अजयको म्याराथन भाषणको पूरै भिडियो रेकर्ड तयार गरिएको छ । यसका लागि तिनवटा भिडियो क्यामरा लगाइएको थियो र त्यसमा क्लोज सर्किट क्यामरा पनि थियो । भाषणको भिडियो रेकर्डिङ तथा श्रोता दर्शकको उपस्थितिको तस्वीर र भिडियो लगायतका दस्तावेज बेलायतको लण्डनस्थित गिनिज बुक अफ वल्र्ड रेकर्डस्को कार्यालयमा पठाइनेछ ।
१० देखि १२ हप्तासम्ममा गिनिज बुकले उनको भिडियो रेकर्डिङ जाँच गरी किर्तिमानी भाषणको प्रमाणिकरण गरेर गिनिज बुकमा दर्ज गर्नेछ ।
साढे ६० घण्टा भाषण गरेपछि भाषणबाज डाक्टर अजयको स्वास्थ्य परीक्षण गरिएको थियो । उनको स्वास्थ्य सबै सामान्य पाइयो र रक्तचाप पनि सामान्य थियो ।