बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधि
काठमाडौँ, २४ जेष्ठ - च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ।
शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग, कपसँगै च्याम्पियन्स लिग जितेर ट्रेबलको कीर्तिमान बनाएको छ। बर्लिनको ओलम्पिक स्टेडियममा दक्षिण अमेरिकी तीन सुपरस्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज भएको बार्सिलोनाविरुद्ध युभेन्टसले बहादुरीपूर्ण प्रदर्शन गरेको छ। चौथो मिनेटमा नै राकिटिकले गोल गरेपछि बार्सिलोनाको सहज जितको अनुमान गरिएको थियो। तर, एक गोल आइसकेपछि पनि युभेन्टसले हार मानेन र पहिलो हाफमा बार्सिलोनाका तीन सुपर स्टारलाई गोल गर्ने मौका दिएनन्। दोस्रो हाफको ५५ औं मिनेटमा माराटाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए। कार्लोस टेभेजको प्रहारमा बार्सिलोनाका गोलरक्षकले रोक्दा फर्किएर आएको बलमा उनले क्लोज रेन्जबाट गोल गरेका हुन्। तर, खेलको ६८ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। अन्तिम मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना विजयी भयो। | |