चीनमा जहाज डुब्दा ४५० भन्दा बढी यात्रु बेपत्ता
१९ जेठ, काठमाडौं । चीनको याङ्जी नदीमा जहाज डुब्दा ४५० जना भन्दा धेरै यात्रु वेपत्ता भएका छन् । पूर्वी शहर नानजिङबाट दक्षिण-पश्चिमी शहर चुंगचिङ तर्फ गैरहेको क्रुज जहाज तुफानमा फँसेर डुबेको हो ।
इस्टन स्टार नामको सो जहाजमा ४०५ चिनियाँ यात्रु, ५ ट्राभल एजेन्सीका कर्मचारी र चालक दलका ४७ सदस्य सवार थिए । उद्धारकर्मीहरुले २० जनालाई जीवितै उद्धार गरेका छन् । अरु यात्रुहरुको खोजीकार्य जारी छ ।
चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुसार जहाज डुब्दा यात्रुहरुले गुहार माग्दै चिच्चाइरहेका थिए ।
तूफानले उद्धार कार्य प्रभावित
जहाज हुबेई प्रान्तको जियानली क्षेत्रमा डुबेको छ । जहाँ १५ मिटर गहिराइ छ । तर तूफान र वर्षाले उद्धारकार्य केही प्रभावित भएको सिन्हुवाले जनाएको छ ।
चिनियाँ प्रधानमन्त्री ली के कियाङ घटनास्थल जाँदैछन् । उनले उद्धारकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
बेइजिङस्थित बीबीसी सम्वाददाताका अनुसार याङ्जी नदीको जहाज डुबेको क्षेत्र सुन्दरताले भरिपूर्ण छ । त्यसैले धेरै पर्यटकहरु त्यसको सुन्दरता अवलोकन गर्न जाने गर्दछन् । जहाज दुर्घटनामा डुबेकाहरु पनि अधिकांश विदा सदुपयोग गर्दै घुम्न गएका थिए ।
यसै वर्षको जनवरी महिनामा याङ्जी नदीमा भएको एक दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।