मौसमको खराबीले अमेरिकी हेलिकोप्टर दुर्घटना :
११ असार, काठमाडौं । भूकम्प पीडितहरुलाई उद्धार गर्न नेपाल आएको अमेरिकी हेलिकोप्टर मौसमको खराबीका कारण सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटना भएको निष्कर्ष निकालिएको छ ।
- पर्यटन मन्त्रीलाई अन्तिम प्रतिवेदन बुझाउँदै कार्यदलको टोली । तस्वीर सौजन्य : नेपाली सेना
गत वैशाख २९ गते घोर्थली गाविस ३ स्थित कालिन्चोक पहाडमा अमेरिकी हेलिकोप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । अमेरिकाबाट खोज, उद्धार तथा राहत कार्यको लागि आएको UH-1Y “Huey” हेलिकप्टर करिब ११ हजार २ सय फिट उचाइमा दुर्घटना हुँदा ६ अमेरिकी, २ नेपाली सेना र ५ जना उद्धार गरिएका भूकम्प पीडित नेपालीको मृत्यु भएको थियो ।
उक्त दुर्घटना छानविन गर्न नेपाली सेना र अमेरिकी सेना सम्मिलित १५ सदस्यीय संयुक्त कार्यदल गठन गरिएको थियो । कार्यदलले छानविनको अन्तिम प्रतिवेदन शुक्रबार पर्यटनमन्त्री कृपाशुर शेर्पालाई बुझाएको छ ।
संयुक्त कार्यदलका अध्यक्ष चालक सहायक रथी सुधिर श्रेष्ठले मन्त्री शेर्पालाई बुझाएको प्रतिवेदनमा कालिन्चोक पहाड श्रृङ्खलाको भौगोलिक बनोट र खराब मौसमको कारणले सो हेेलिकप्टर दुर्घटना भएको उल्लेख छ ।
त्यसैगरी संयुक्त छानविन कार्यदलले सम्बद्ध निकायहरुलाई भविष्यमा यस्ता दुर्घटनाबाट बच्ने उपायहरु समेत सिफारिस गरेको नेपाली सेनाले जनाएको छ ।