भूकम्प पीडितलार्इ नेपथ्यको सहयोग ४० लाख नाघ्यो

Nepathya-Frontman१ असार, काठमाडौं । साँगीतिक समूह नेपथ्यको अठोटसँगै सुरुभएको सहयोग संकलन प्रयासमा भूकम्प पीडितका निम्ति हालसम्म ४० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

भुइँचालो लगत्तै अष्ट्रेलियाको मेलबोर्न, जापानको टोकियो, संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कार्यक्रम र नेपथ्यले आफ्नै तर्फबाट प्रदानगरेको रकमसमेत जोड्दा यति राशि जम्मा भएको हो ।
भुइँचालोको पहिलो धक्कासँगै नेपाल काँपिरहेको बेला नेपथ्य एक महिने अष्ट्रेलिया भ्रमणको अन्तिम चरणमा थियो । लाखौं संरचनाहरु भत्काउने र हजारौंको ज्यान लिने त्यो त्रासदीकै भोलीपल्ट मेलबोर्नस्थित टाउनहलमा गाउने–बजाउने कार्यक्रम तय थियो । उता घरबाट आइरहेको नमिठो खबरको ओइरोले आयोजक र कलाकारहरुलाई असहज अवस्थामा ठेल्दै लग्यो ।
‘यस्तो बेलामा थप तनाव बेहोर्नुभन्दा रद्दै गरिदिनु सजिलो पनि हुन्थ्यो । तर, हामीले कठिन बाटो अपनायौं,’ नेपथ्यका मुख्य गायक एवं टोली अगुवा अमृत गुरुङ त्यो क्षण सम्झँदै भन्छन्, ‘हामीले राष्ट्रिय संकटको यो घडीमा कार्यक्रम जारी राख्ने मात्र होइन मे महिनामा पूर्वनिर्धारित टोकियो र दुबईका शोलाई पनि भूकम्पसम्वन्धि चेतना अभिवृद्धि र पीडितलाई राहतका निम्ति समर्पित गर्दै अघि बढाउने निर्णय लियौं ।’
तर, यति जटिल परिस्थितीमा आयोजित भइकन पनि कार्यक्रमले आफ्नैखाले महत्व स्थापित गर्न सफल भएको थियो ।
‘सदैव ताली र नृत्यले गुञ्जने नेपथ्यको प्रस्तुती त्यस बेलुकी यति परिपक्व थियो कि सिंगो कार्यक्रम एउटा भव्य सांगीतिक श्रद्धांजली समारोहमा परिणत भइदियो,’ मेलबोर्नका आयोजक यति एफसीका राज शर्मा भन्छन्, ‘एकातिर वाद्यवादनका प्रत्येक धुनले मुटुलाई छेडिरहेको थियो भने अर्कोतिर अमृत गुरुङका कम्पित स्वरबाट निस्केका सन्देशले सबै दर्शकको आँखा रसाएका देखिन्थे ।’
त्यो साँझ भूकम्प पीडितको सहयोगार्थ भनेर आयोजकहरुले कार्यक्रमस्थलमै चन्दा बाकस पनि राखेका थिए । त्यसबाट तत्कालै चार हजार अष्ट्रेलियन डलर जम्मा भएपछि त्यतिबेलै नेपथ्यले मे महिनाभरको कार्यक्रमलाई पीडितको सहयोगार्थ अघि बढाउने अठोट गरेको थियो ।
त्यसलाई साथ दिँदै मेलबोर्नका आयोजकहरुले थप संकलन गरेर सहयोग रकमलाई २० हजार अष्ट्रेलियन डलर पुर्याउन सफल भए । आयोजक शर्माका अनुसार त्यो रकम गैरआवासीय नेपाली संगठनको राहत क्याम्पेनको खातामा जम्मा भइसकेको छ ।
त्यसबाहेक अष्ट्रेलियाबाट फर्केलगत्तै नेपथ्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको थियो । दुबईमा हालै आयोजित शोबाट संकलित अर्को पाँच लाख रुपैया गत साता पुनः प्रधानमन्त्री कोषमै नेपथ्यले जम्मा गरिसकेको छ ।
‘कार्यक्रम अगावै यसबाट हुने मुनाफा नेपथ्यको अठोटमा सघाउने घोषणा गरिसकेका थियौं,’ गत जेठ ७ गते दुबईस्थित अल नासेर लिजरल्याण्डमा आयोजित कन्सर्टका आयोजक जस पाइजा भन्छन्, ‘उक्त रकम पीडितको सहयोगार्थ नेपथ्यकै जिम्मा लगाएका छौं ।’
दुबईभन्दा पहिलेको कार्यक्रम गत बैशाख २२ गते टोकियोस्थित कामता हलमा आयोजित थियो । उक्त कार्यक्रमका आयोजक ‘तमु धिँ’ले समेत यसबाट हुने फाइदाको रकम राहत कार्यमै खर्च गर्ने प्रतिवद्धता प्रकट गरेको थियो ।
‘हामीले जापानस्थित गैरआवासिय नेपाली संगठनमार्फत् एक लाख रुपैयाँ, धादिङ जिल्लाको धुसेनी प्राविलाई दुई लाख रुपैयाँ र गोरखाको शितलडाँडा प्रावि हंशपुरलाई एक लाख प्रदान गरिसकेका छौं,’ जापानस्थित आयोजक तमु धिँका अमर गुरुङ भन्छन्, ‘कन्सर्टबाट सुरुभएको सहयोग संकलनबाट उठेको कूल १५ लाखमध्ये अब बचेको ११ लाख रुपैयाँले भूकम्पका कारण टुहुरा बन्नपुगेका केटाकेटीको सहयोगार्थ योजना थालनी गर्ने सोचाइमा छौं ।’ योजनाका निम्ति यस विषयमा विज्ञहरुबाट परामर्श लिइने जानकारी पनि उनले दिए ।
यसरी मेलबोर्न, टोकियो र दुबईका कार्यक्रमहरु नेपथ्यका अरु समयको कार्यक्रमभन्दा विशेष बन्न पुग्यो । साँगीतिक श्रद्धान्जलीमा परिणत उसका कार्यक्रमहरुमा अरुबेला जस्तो दर्शक सबैभन्दा रमाउने ‘रेशम’ र ‘तालको पानी’ गाइएका थिएनन् ।
यसका साथै नेपथ्यले मे महिनाभरका निम्ति प्रकट गरेको सार्वजनिक अठोट पुरा भएको जानकारी उक्त समूहको व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठले दिएका छन् । ‘आवश्यक परेका खण्डमा हामी फेरि पनि सामाजिक दायित्व पुरा गर्न तयार छौं,’ श्रेष्ठ थप्छन्, ‘अब भने हामी नेपथ्यको भर्खरै तयार दसौं अल्बमको सार्वजनिकीकरणसहित नयाँ सुरुवात गर्ने यात्रामा अग्रसर भएका छौं ।’