दुई युवतीसँगै होटेलमा बसेका युवकको रहस्यमय मृत्यु

महोत्तरी, २३ जेठ । महोत्तरीमा दुई युवतीसँगै होटेलमा बास बसेका एक युवकको रहस्यमय मृत्यु भएको छ । आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको मोरङको दुलारी–६ का सञ्जीव क्षेत्री चौहान शनिबार बिहान ४ बजे होटलमै रहस्यमय मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराको मधेरी पाठक गाउँकी कल्पना तामाङ र सर्लाही धनकौल–९ की सुभद्रा सिंहसँग उक्त होटलको कोठा नम्बर १०२ मा तीन दिनदेखि चौहान बस्दै आएका थिए । शनिबार बिहान ४ बजे श्वासप्रश्वासमा समस्या भएको र जीउ टर्रो पर्न थालेपछि चौहानलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गर्न मृतकसँग आएको दुवै केटीलाई नियन्त्रणमा लिएको छ भने होटलमा पनि सिलबन्दी गरेको छ ।