पहिरोले सेनाको ब्यारेक पुरियो,बंकरभित्र ठूलो विस्फोट

फोटो :फाइल तस्‍बिर
काठमाडौं : अविरल वर्षाका कारण दोलखा जिल्लाको लामावगरस्थित तल्लोवस्तीमा पहिरो जांदा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरक्षाको लागि लामाबगरमा तैनाथ नेपाली सेनाको बर्द वहादुर गण अन्तर्गत रहेको सुरक्षा बेश पुरिएको छ।
 
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिरोले नेपाली सेनाको ३ वटा बंकर घर, जवान लाइन, अधिकृत मेश, अप्रेशन रुम, खाद्यान्न स्टोर लगायत भान्छा पुरिएको छ।
 
सोमबार ठूलाठूला ढुंगाहरु सहितको सुख्खा पहिरो गएकोले आयोजनाको निर्माणको लागि नेपाली सेनाको क्याम्पभित्र बंकरमा सुरक्षितसाथ राखिएको बिस्फोटक पदार्थहरु पुरिन गई ठुलो बिस्फोट भएको थियो।
 
उक्त बिस्फोटनबाट लामावगर सुरक्षा बेशको साथै मजदुरहरु बस्ने स्थान र माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको कार्यालय भवन तथा वरपरका केहि स्थानीय बासिन्दाको पक्की घरका ढोका र भ्यालको सिसाहरु फुटेको छ।
 
त्यसैगरी, पहिरो गएको थाहा पाई भाग्ने क्रममा पहिरोबाट खसेको ढुंगाहरुले लागि उक्त बेशमा कार्यरत ९ जना सैनिकहरु सामान्य घाइते भएका छन्। उपचार पश्चात् हाल घाइतेहरुको अवस्था सामान्य रहेको छ।
  
उक्त ईलाकामा भएको क्षतिको विस्तृत विवरण र गर्नुपर्ने ईन्जिनियरिङ टास्कहरुको अध्ययनको लागि मंगलबार नेपाली सेनाको ४ जनाको ईन्जिनियर्स टोली लामावगरस्थित बेश क्याम्पतर्फ प्रस्थान गरेको छ।