नेपाली चेली भारतको सांसद बनेपछि ओडिसामा विवाद

६ फागुन, काठमाडौं । संसदीय चुनाव जितेर भारतीय लोकसभाको सांसद बनेकी नेपाली बाबुकी छोरी नागरिकता विवादमा तानिएकी छन् । यो घटनाबाट भारतीय गोरखा समुदायले चित्त दुखाएका छन् ।
ओडिसा राज्यको कमण्डल निर्वाचन क्षेत्रबाट चुनाव जितेकी बिजु जनता दलकी सांसद प्रत्युषा राजेश्वरी सिंह नेपाली नागरिक भएको आरोप लागेको हो । नेपाली नागरिक भारतको सांसद बनेको भन्दै उनको नागरिकतामाथि छानविन गर्न यतिबेला ओडिसा उच्च अदालतमा मुद्दा परेको छ ।
प्रत्युषा राजेश्वरी सिंह
को हुन् प्रत्युषा ?
प्रत्युषा सन् १९७१ नोभेम्बर २९ मा भारतको राँचीमा जन्मिएकी हन् । उनी नेपालको राणा खान्दानकी छोरी हुन् ।
प्रत्युषाका पिता दिलिप समशेर जबरा नेपाली नागरिक हुन् । प्रत्युषाकी आमा ज्योत्स्ना राज्यलक्ष्मीचाँहि भारतीय हुन् ।
नेपाली बाबुकी छोरी भए पनि सांसद प्रत्युषाले भारतीय राजघरानाका नागरिकसँग विवाह गरेकाले उनी भारतकी भाञ्जीमात्रै नभई बुहारी पनि हुन् । प्रत्युषाका पति पूर्वसांसद स्व. हेमेन्द्रचन्द्र सिंह हुन् ।
गतसालको भारतीय लोकसभा चुनावमा बिजु जनता दलका तर्फबाट चुनाव जितेका प्रत्युषाका पति हेमेन्द्रचन्द्रको निधन भएपछि ओडिसाको कमण्डल क्षेत्रमा तीन महिनाअघि उपचुनाव भएको थियो ।
गत अक्टोबर १४ मा सम्पन्न उपचुनावमा बिजु जनता दलले पतिको ठाउँमा प्रत्युषालाई उमेद्वार बनाएको थियो । प्रत्युषाले बीजेपीका रुद्र माधवलाई ३ लाख मतले हराइन् र पतिको ठाउँमा सांसद बनिन् ।
चुनाव हारेपछि ओडिसाका बीजेपी र कांग्रेस नेताहरुले प्रत्युषा नेपाली भएको आरोप लगाएका हुन् । यसैक्रममा उनको नागरिकता छानविनका लागि ओडिसा उच्च न्यायालयमा उजुरी पर्‍यो ।
नागरिकता छानविनका लागि बीजेपीका पराजित उमेद्वार रुद्र माधवले हालेको उजुरी रद्द गर्न माग गर्दै सांसद प्रत्युषाले पनि न्यायालयमा निवेदन दर्ता गरेकी छन् ।
भारतीय गोरखालीले चित्त दुखाए
यसैवीच प्रत्युषाको नागरिकतामाथि बीजेपी र कांग्रेस आइका नेताहरुले प्रश्न उठाएपछि भारतमा रहेका गोरखालीहरुले चित्त दुखाएका छन् ।
प्रत्युषाको मुद्दाले दार्जीलिङको समेत ध्यानाकर्षण भएको छ । भारतीय क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका प्रवक्ता गाविन क्षेत्रीले भारतीय गोरखालाई हेर्ने बीजेपीको दृष्टिकोण सही नभएको आरोप लगाएका छन् । क्षेत्रीले सन् १९५० को नेपाल-भारत सन्धीको संशोधन हुनुपर्ने मागसमेत गरेका छन् ।
भारतीय कानूनअनुसार प्रक्रिया पुर्‍याएर उमेद्वार बनिसकेपछि नागरिकताको विवाद झिक्नु औचित्यहीन कार्य भएको भन्दै भारतीय गोरखाहरु रुष्ट बनेका छन् ।
भारतको गोरखा लिग पार्टीका महासचिव प्रताप खाती भन्छन्, ‘भारतको भौगोलिक क्षेत्रमा जन्मिनेलाई भारतको संविधानले नागरिकताको अधिकार प्रदान गरेको छ । बिहे गरेर आएको भए पनि पाँच वर्ष बसेपछि भारतीय कानूनअनुसार नागरिकता दिइन्छ ।’
प्रत्युषाको नागरिकता विवादबारे दार्जीलिङबाट हिमालय दर्पण लेख्छ-‘सांसद प्रत्युषा राजेश्वरी सिंहको नागरिकतासम्बन्धी भाजपाले होहल्ला मच्चाउन सुरु गरेयता ने भारतभरि छरिएर बस्ने डेढ करोड भारतीय गोरखाहरुको अस्थित्वमाथि तथाकथित संदिग्ध नागरिकताको भुइँचालो आउन थालेको हो ।’
भारतीय पत्रिकाले अगाडि लेखेको छ -‘राष्ट्रिय स्तरमा यसरी चर्कन सुरु भएको नागरिकताको प्रश्नले देशबासी सामु आउने दिन गोरखाहरु फेरि विवादको घेरोभित्र पर्न सक्ने आशंका व्यक्त गरिएको छ ।’