मनाङले थ्रीस्टारसँग बदला लियो

५ फागुन, बिराटनगर । थ्रीस्टारलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वार्टरफाइनलमा थ्रीस्टारलाई ३-१ ले पराजित गर्दै मनाङले केही दिन अघि आहा रारा गोल्डकपको फाइनलमा ब्यहोरेको हारको बदला दिएको छ । मनाङलाई १-० ले पराजित गर्दै थ्रीस्टारले शनिबार उपाधि उचालेको थियो ।
मनाङले खेल सुरु भएको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । डोडेजको पासलाई सदुपयोग गर्दै दिपक राइले गोल गरेका हुन् । १७ औ मिनेटमा थ्रीस्टारका रन्जित धिमालले गरेको प्रहारलाई मनाङका गोल रक्षक विसाल श्रेष्ठले पन्च गर्दै बचाएका थिए ।
२४ मिनेटपछि थ्रीस्टारका विष्णु सुनुवारले बराबरी गोल फर्काए । ३६ औ मिनेटमा मनाङका डोडेजले वान भर्षेज वानमा गोल गर्न चुकेका थिए । पहिलो हाफमा दुबै टीमबाट थप गोल हुन सकेन र १-१ को बराबरीमा सकियो ।
दोस्रो हाफमा दुबै दुवै टीमले आक्रमक खेल प्रर्दशन गरेका थिए । ७७ औ मिनेटमा थ्रीस्टारका सन्तोष साउखलको प्रहार पहिलो बारमाथिबाट बाहिरियो ।
तर, ८० औ मिनेटमा मनाङका शिव श्रेष्ठले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए । अतिरिक्त समयको तेस्रो मिनेटमा सुलभ मास्केले गोल गर्दै मनाङको जित निश्चित गरेका थिए ।
मनाङका खेलाडी दिपक राई म्यानअफ द म्याच घोषित भए ।
बुधाबारको पहिलो सेमिफाइनलमा झापा ११ झापा र जगदम्बा लुम्बिनी फुटवल क्लब रुपन्देही भिड्नेछन् ।