मरोस् भनेर हिउँमा छोडिएको शिशुलाई बिरालोले बचाएपछि…

ओबनिस्क – यसलाई चकत्कार नै भन्नुपर्छ, जुन शिशुलाई मानिसहरुले मरोस् भन्दै चिसो मौसममा बाहिर फ्याँकिदिए, त्यहि शिशुलाई सडकमा छाडिएको एक बिरालोले बचाएको छ ।

रुसको ओबनिस्क शहरको सडकको किनारामा रहेको एक बक्सभित्र शिशु राखिएको थियो । बाहिर हिउँ परेका कारण उक्त शिशुको चिसोका कारण मृत्यु हुने निश्चित थियो तर त्यहि बक्स नजिकैबाट हिँडिरहेको बिरालोले शिशु भएको बक्सलाई नियाल्न पुग्यो । सायद बिरालोले के सोच्यो, बक्सभित्र शिशु देख्नेबित्तिकै बिरालोले उक्त शिशुमाथि बसेर आफ्नो शरिरमा भएको रौँले बालकलाई तातो बनायो । बिरालो यतिमा मात्र सिमित भएन , यसले वरपर आएको मानिसहरुलाई उक्त घटनाको जानकारी दिन आवाज निकाल्न थाल्यो – ‘म्याउँ–म्याउँ’ । नजिकै बस्ने एक महिला इरिना लेवोरोवले बिरालो लगातार कराइरहेको सुनेर बिरालो घाइते भएको अनुमान गरिन् । जब उनी त्यहाँ नजिक पुगिन् तब उनले बिरालोको मुनी शिशु सुतिरहेको देखिन् । घटनाको जानकारी दिन उनले तत्काल पुलिसलाई फोन गरिन् र शिशुलाई तत्काल अस्पताल लाने व्यवस्था मिलाइन् । यसरी एउटा बिरालोले शिशुको ज्यान बचाएको छ । बिरालो त्यहि वरिपरि नै बस्ने गर्दछ । माया गरेर त्यहाँका मानिसहरुले बिरालोलाई ‘मासा’ भन्ने गर्दछन् । अस्पतालका मानिसहरुको बिरालोको तारिफ गर्दै जनावरमा पनि मानवता भएको बताए ।