रक्सी पिउदा पिउदै ज्यान गयो

ओएस नेपाल, कालीकोट, २२ पुस । कालीकोट जिल्लाको रास्कोट क्षेत्रमा पर्ने स्युना गाविसका एक युवकले अत्यधिक मदिरा सेवन गर्दा आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्युना–३ निवासी ३१ वर्षीय गुइया सार्की रहेका छन् । सोमबार बेलुका गाउँको मदिरा पसलबाट अत्यधिक मदिरा सेवन गरी घर आएका गुइया सार्कीको बिहान मृत्यु भएको धर्मराज शाहीले बताएका छन् ।
मृत्यु भएका गुइयाका दुई छोराछोरी रहेका छन् । जिल्लामा मदिरा बिक्री वितरण खुल्ला भएका कारण प्रयोग गर्नेको सङ्ख्या पहिलेको तुलनामा ह्वात्तै बढेर गएको बताइएको छ । संविधानसभाको निर्वाचनताका मदिरा बिक्री वितरणमा कडाइ गर्दा ग्रामीण क्षेत्रमा बिक्री वितरणमा कमी आए पनि अहिले भने झन् बढ्दै गएको हो ।
पाँच महिनाअघि स्युना–४ का टङ्क शाहको मदिरा प्रयोगमा प्रतिस्पर्धाका कारण ज्यान गएको थियो । कालीकोट मदिरा अत्यधिक बिक्री वितरण हुने जिल्लाको रुपमा पर्दछ । विगत २० वर्षदेखि कालीकोट जिल्लामा खुल्ला रुपमा मदिरा बिक्री वितरण हँुदै आएको छ । रासस