भारतमा बेचिएकी महिला भागेर नेपाल आउन सफल

भारतमा बेचिएकी महिला भागेर नेपाल आउन सफल चन्द्र थापा/उज्यालो । अछाम, पुस २२ - भारतको हैदराबादमा बेचिएकी अछामकी एक महिला भागेर नेपाल फर्किन सफल भएकी छन् । ढाकु गाबिस–९ का ३१ बर्षिया महिला यसरी भाग्न सफल भएकी हुन् । २ छोरा र १ छोरीकी आमा उनले पारिवारिक  कलहका कारण ढाकु–९ का ६० बर्षिय अमर बिष्टसँग दोस्रो विवाह गरेका थिइन् ।
जिल्लाको मुली गाबिस–२ का एक व्यक्तिसँग पहिलो विवाह गरेकी उनलाई बिष्टले गएको साउनमा तेस्रो श्रीमतीका रुपमा भित्र्याएका थिए । त्यसलगतै बिष्टले ती महिलालाई भारतमा लगेर ३ लाख रुपैयाँमा बेचेर आफू नेपाल फर्किएका थिए । झण्डै १५ महिनापछि बेचिएकी महिला दलालको पंञ्जाबाट भागेर अछाम सदरमुकाम मंगलसेनस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेपछि विवाहको नाटक गरी बेचेको घटना सार्बजनिक भएको हो ।
लामो समय कमलबजारमा होटल व्यवसाय संचालन गरेकी उनलाई छिमेकमै किराना पसल थापेर बसेका बिष्टले दैनिक उठबस पश्चात भगाएको स्थानीयबासिन्दाको भनाई छ । बेचबिखनमा संलग्न बिष्टमाथि कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी उनले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रशासन, अधिकारवादी महिला र केही कानून व्यवसायीसँग न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।
उनलाई भारतमा बेचबिखन गर्नमा संलग्न भनिएका बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । ती महिलाका पहिलो श्रीमानले नै उनलाई बेचेको भन्दै उजुरी दिने तयारीमा रहेको बेला बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।