माघ १४, पर्सा प्रहरी टोली र गाउँलेबीच हरपुर ८ बढेर्वामा बुधबार साँझ भएको झडपमा २ प्रहरी र ३ स्थानीय घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ७० राउण्ड गोली हवाई फायर समेत गरेको छ स्रोतका अनुसार, बन्यजन्तुको अंग बरामद गर्न आएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का प्रहरी निरीक्षक भोला भट्ट नेतृत्वको टोलीले हरपुर ८ निवासी सरजुग चौधरीको घरमा छापा मार्न खोजेको थियो । चौधरीको घरमा बाघको छाला र हड्डी तथा गैंडाको खाग लगायतका ठूलो परिमाणमा बन्यजन्तुको अंग रहेको सूचनाको आधारमा सिआइबि टोली त्यहा आई पुगेको थियो । त्यस क्रममा ठूलो संख्यामा संगठित भएका महिला र गाउलेको टोलीले सिआइबी टोलीलाई घेरा हाली केही बेर बन्दी बनाएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, एकटांगा, सिमरा, जीतपुर, परवानीपुर, मिलनचोकबाट समेत प्रहरी टोली त्यहा पुगेको थियो । साझ करीब ५ बजे प्रहरी टोली र गाउलेबीच झडप भएको थियो । गाउलेले प्रहरी उपर महिला र बालबालिकालाई अघि सारेर व्यापक ढुंगामुढा गरेपछि प्रहरीले प्रतिकारमा करीब ७० राउण्ड हवाई फायर गरेको थियो । त्यस क्रममा ३ महिला र २ प्रहरी समेतलाई गोलीको छर्रा लागेर घाइते भएका छन् । प्रहरी चौकी बिरुवागुठीका प्रहरी सहायक निरीक्षक सर्पलाल यादवको देब्रे खुट्टामा गोलीको छर्रा लागेको छ । घाइते अन्यको नाम खुल्न सकेको छैन । उनीहरुलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याइएको बताइएपनि प्रहरी उपरीक्षक दिवेश लोहनीले आफूलाई यस बारे जानकारी नरहेको बताए ।
पर्सामा गाउँले र प्रहरी बीच झडप, ७० राउण्ड हवाइ फायर, ५ घाइते