अष्ट्रेलियामा नेपाली बृद्ध ४ दिनदेखि बेपत्ता
अष्ट्रेलिया, माघ ४ - अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका भुटानी मुलका नेपाली बृद्ध बिगत चारदिनदेखि बेपत्ता भएका छन् । अष्ट्रेलिया प्रहरीले उनको खोजी गरिरहेको भएपनि अहिलेसम्म फेला पार्न सकेको छैन ।
मेलबर्नस्थित मेल्टन शहरमा आफ्ना छोराका साथ बस्दै आएका ७४ बर्षीय काशि अधिकारी माघे संक्रान्तिको दिन राति करिब १० बजेदेखि घर बाहिर गएका थिए । त्यसदेखि फर्किएर नआएका उनको खोजीमा परिवार, छरछिमेक र प्रहरी लागिपरेपनि अहिलेसम्म फेला पार्न नसकिएको उनका कान्छा छोरा ओम अधिकारीले जानकारी दिए । उक्त दिन सा“झको ९ बजेर ४३ मिनेटमा घरबाट बाहिर निस्किएका उनको खोजी गर्दा फेला नपारेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
भुटानबाट लखेटिएपछि शरणार्थी बनेर झापाको खुदुनाबारीमा बस्दै आएका उनी आफ्ना परिवारसहित शरणार्थी पुर्नस्थापना कार्यक्रम अर्न्तर्गत ५ बर्षघि अष्ट्रेलियाको मेलबर्नमा आएका थिए । ५ छोरा र दुई छोरी भएका अधिकारीको खोजीमा अष्ट्रेलिया प्रहरीले हेलिकप्टर समेत प्रयोग गरिरहेको छ तरपनि अहिलेसम्म उनको बारेमा केहीपनि जानकारी पाउन नसकिएको परिवारले जानकारी दिएको छ ।
सामान्यताः साँझ परेपछि सुत्ने बानी भएका आफ्ना बुबा किन र के कारणले रातिको समयमा घरबाट निस्कनुभयो आफूहरुले केही थाहा पाउन नसकेको बृद्धका छोरा अधिकारीले बताए । स्थानीय बाहेक करिब एक दर्जन भुटानी मुलका नेपालीको बसोबास रहेको उक्त स्थानमा उनी अत्यन्तै मिलनसार व्यक्तिका रुपमा चिनिन्छन् ।