काठमाडौंमा ट्याक्सी चलाउँदै आएका भाई चुडामणि प्रधानले आफ्नो ट्याक्सीमा छुटेको १३ लाख रुपैयाँ बराबरको २५ तोला सुनका गर गहना यसरी फिर्ता गर्नुभएको छ
काठमाडौं, पुस २७ – काभ्रेको नाग्रे
गगर्चे गाविस घर भई काठमाडौंमा ट्याक्सी चलाउँदै आएका चुडामणि प्रधानले
आफ्नो ट्याक्सीमा छुटेको १३ लाख रुपैयाँ बराबरको २५ तोला सुनका गर गहना
फिर्ता गर्नुभएको छ । आफ्नो ट्याक्सीमा छुटेको चितवनकी निशा श्रेष्ठको २५
तोला सुनका गरगहना उहाँले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखा
बग्गीखानामा पुगेर श्रेष्ठलाई फिर्ता गर्नुभएको हो । २५ तोला सुन रहेको
झोला अहिले बागबजार बस्दै आएकी श्रेष्ठले शनिबार प्रधानको ट्याक्सीमा
भुल्नु भएको थियो । श्रेष्ठ तीनजना आफन्तसहित शनिबार काठमाडौंको
भृकुटीमण्डपस्थित फनपार्क घुमेर रानीबारी जानका लागि श्रेष्ठको बा १ ज ८२३५
नम्बरको ट्याक्सी छढ्नु भएको थियो । बस्न अप्ठेरो भएकाले उहाँले आफ्नो
झोला डिकीमा राख्न लगाउनुभयो । तर रानीबारमा झरेपछि झोला निकाल्न बिर्सिनु
भयो । श्रेष्ठ ट्याक्सीबाट उत्रिने वित्तिकै ठमेल जाने यात्रु पाएपछि
प्रधान पनि ठमेलतिर हानिनुभयो ।
राती ट्याक्सी लिएर कीर्तिपुरस्थित डेरामा
पुगेपछि मिटर निकालेर डिकीमा राख्ने क्रममा प्रधानले झोला फेला पार्नुभयो ।
तर झोला कसको हो भन्ने बारेमा उहालाई यकिन भएन । उहाँले झोला डिकीमा नै
राख्नुभयो । उता आफ्नो गन्तब्यमा पुगेपछि श्रेष्ठले सुन भरिएको आफ्नो झोला
सम्झनुभयो । त्यतिबेलासम्म ट्याक्सी हिँडिसकेको थियो । त्यसपछि उहाँले
ट्राफिक प्रहरीमा सामान छुटेको जानकारी गराउनुभयो । ‘प्रहरीले सुरुमा त
त्यत्रो सामान छुटाउने हो ? भेटिँदैन भने ।’ आइतबार बग्गीखानामा सामान
हातपारेपछि पत्रकारसित श्रेष्ठले भन्नुभयो ‘तै पनि भेटिन्छ कि भन्ने आशाले
खोजी गर्न प्रहरीलाई अनुरोध गर्यौं ।’
त्यसपछि महानगरीय ट्राफिक प्रहरी
महाशाखाले आफ्ना सबै कार्यालयहरुमा सर्कुलर जारी गर्यो । र सामानको खोजी
सुरु भयो । ट्राफिक प्रहरीले निशाले बताएको हुलिया अनुसार आइतबार बिहान
ट्याक्सीमा झोला भए/नभएको बारेमा प्रधानलाई फोन गर्यो । ट्राफिकको फोनपछि
प्रधान ट्याक्सी लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखा पुग्नुभयो ।
महाशाखामा झोला धनी श्रेष्ठ आफन्तसहित उपस्थित हुनुहुन्थ्यो । ट्राफिक
प्रहरीले प्रधानको ट्याक्सीबाट झोला निकालेर खोल्यो । श्रेष्ठका सुनका
गरगहना झोलामा जसरी राखिएका थिए उस्तै अवस्थामा भेटिए ।
३ थान हार, ६ थान चुरा, ५ थान औंठी, ४ थान
टप, १ थान लकेट आफूले राखेकै अवस्थामा भेटिएपछि श्रेष्ठले चालक प्रधानलाई
निकै इमान्दार चालक भन्दै खादा ओढाएर सम्मान गर्नुभयो र २० हजार रुपैयाँ
पुरस्कार हातमा राखी दिनुभयो । ट्राफिक प्रहरीले पनि सुनका गरगहना फिर्ता
गरेकामा प्रधानलाई ५ हजार रुपैयाँ पुरस्कारस्वरुप दिएको छ । २५ तोला सुन
फिर्ता गरेर इमान्दार चालकको परिचय बनाएका प्रधानले चालकहरुलाई आफ्नो
ट्याक्सीमा छुटेका यात्रुहरुका सामानमा कुनै पनि लोभ नगर्न आग्रह गर्नुभयो ।
‘आफूले त्यो झोलामा के छ भनेर हेर्दासमेत हेरिँन ।’ प्रधानले भन्नुभयो
‘कसको झोला भनेर ट्राफिक प्रहरीलाई वुझाउन ल्याउँदै थिएँ । बाटोमै प्रहरीको
फोन आयो ।’ उहाँले सामान धनीलाई सामान फिर्ता गर्न पाएकोमा आफूलाई खुसी
मिलेको बताउनुभयो ।
