प्रचण्डले नरोकेको भए सुवास नेम्वाङ जुत्ता खाँदै थिए -

काठमाण्डु, ११ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई जुत्ता प्रहार हुनबाट जोगाएको खुलासा भएको छ । एमाओवादीका केही युवा सभासदले प्रश्नावली समिति गठनको प्रस्ताव गर्ने क्रममा आइतबार सभाध्यक्ष नेम्वाङमाथि जुत्ता हान्ने तयारी गरेका थिए । बैठकअघि संविधानसभा भवन बानेश्वरमै बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डसमक्ष सभासदहरुले सभाध्यक्षले तटस्थता गुमाएर एमाले कार्यकर्ताको हैसियतमा ओर्लिएको भन्दै नेम्वाङलाई जुत्ता हान्नुपर्ने प्रस्ताव गरेका थिए । तर प्रचण्डले जुत्ता हान्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले नेम्वाङले प्रश्नावली समिति प्रस्ताव गरे शालीनतापूर्वक विरोध गर्नुपर्ने बताएको एमाओवादी सभासद् अमनलाल मोदीले काठमाण्डु टुडेलाई बताए । ‘केही साथीहरुले सभाध्यक्षमाथि जुत्ता हान्ने तयारी गर्नुभएको थियो’, मोदीले भने, ‘तर जनतामा गलत सन्देश जाने भन्दै अध्यक्षले त्यसो नगर्न निर्देशन दिनुभयो । मोदीका अनुसार प्रचण्डले कुर्ची र माइक तोडफोडको घटनालाई जनताले नरुचाएकाले त्यस्ता गतिविधि संविधानसभामा नगर्न निर्देशन दिएका थिए । नेम्वाङलाई प्रहार गर्न भन्दै केही सभासद पुरानो जुत्ता लगाएर संविधानसभा बैठकमा आएका थिए । नेम्वाङलाई जुत्ता प्रहार हुनबाट जोगाएका प्रचण्डले १९ दलीय मोर्चाको बैठकबाट भने उनको देश्व्यापी पुत्लादहन गर्ने निर्णय गराए ।