छोरालाई विदेश उडाउन लुकाएर राखेको डेढलाख मुसाले उडायो
शैलेन्द्र महतो/उज्यालो । जनकपुरधाम, पुस
३० – अहिले गाउँ गाउँमा बैंकका शाखा पुगेका छन् । नभएपनि सहकारी संस्था त
प्रायः सबै गाउँमा छन् । गाउँलेले तिनै वित्तिय संस्थाबाट पैसाको कारोबार
गर्छन । ऋण चाहिएका बेला लिन्छन् । अनि आफूसँग सञ्चित भएको पैसा जम्मा
गर्छन ।
तर
धनुषामा एक व्यक्तिले आफूसँग भएको डेढलाख रुपैयाँ माटोमा गाडेर राखे ।
चोरबाट जोगाउन भन्दै माटोमा गाडेको पैसा चोरले त फेला पारेन, तर मुसाले भने
छोडेन । चोर मान्छेले फेला
नपारेको नोट चोर मुसाले टुक्राटुक्रा पारिदिएको छ । भूचक्रपुर–४ का
रामनारायण महतोले छोरालाई विदेश पठाउन भन्दै राखेको डेढलाख मुसाले टुक्रा
टुक्रा पारेको हो ।
महतोले छोरा लालबाबुलाई विदेश पठाउन
बर्दिबासको एक बैंकबाट ४० हजार र ढल्केवरको छिमेक बैंकबाट ऋण लिएको २० हजार
रुपैयाँ, भैंसी बेचेको ३० हजार, खसी बेचेको २० हजार तथा ज्याला मजदुरी
गरेर कमाएको ४० हजार रुपैयाँ जम्मा पारेर जमिन मुनि गाडेर राख्नुभएको थियो ।
पैसासँगै राखेको श्रीमतीको चार आना सुनमध्ये दुई आना सुन पनि हराएको
महतोले बताउनुभयो । डेढलाख
रुपैया छोराहरुले नदेखुन् भनेर श्रीमती वर्तनीया देवी र आफुले मात्र थाहा
हुने गरी माटोमुनि पुरेर राखेको रामनारायणको भनाई छ । मुसाले टुक्रा पारेको मध्ये २० हजार रुपैयाँको नोट जोडेर चल्ने बनाएपनि अरु भने काम नलाग्ने भएको महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘चार छोरा मध्ये जेठो
छोरा खर्चालु स्वाभावका छन् । पैसा भेट्ने बित्तिकै खर्चिन्छन् । उसैलाई
विदेश पठाउन उसैको डरले पैसा लुकाएर राखेको थिए । खनेर हेर्दा पैसा त
मुसोले बर्बाद पो पारेछ ।’
