अबैध रुपमा ढुकुटी खेल्नेहरु प्रहरीको फन्दामा

काठमाडौं, फागुन १४–काठमाडौंको डल्लु आवास क्षेत्रमा बस्ने सुचित्रा कपालीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा कपालीले मानिसहरुलाई जम्मा गराई ढुकुटी खेलाइरहेको भन्ने गोप्य सुचना प्राप्त भएपछि अपराध महाशाखाबाट त्यहाँ पुगेको प्रहरीको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो । गोप्य सुचना प्राप्त भएपछि त्यहाँ पुगेको प्रहरी टोलीले कपालीको घरमा खान तलासी गर्दा उनको घरको दोस्रो तलाको वैठक कोठामा ढुकुटी खेलीरहेको अवस्थामा उनीहरुलाई फेलापारी पक्राउ गरेको हो । उनीहरको साथबाट नगद एघार लाख नौ हजार सात सय पैतिस रुपयाँ बरामद गरिएको तथा बिभिन्न बैंकहरुको एकतिस लाख सन्तानब्बे हजार पाँच सय बराबरको १० थान चेक समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको रातोपाटीलाई प्राप्त विज्ञप्तीमा उल्लेख छ ।