आफ्नै भाइद्वारा धारिलो खुकुरी प्रहार गरि दाजुको हत्या

ताप्लेजुङ, माघ २१– ताप्लेजुङको इखाबुमा भाइले धारिलो खुकुरी प्रहार गरि आफ्नै दाजुको हत्या गरेका छन् । प्रहरीकाअनुसार इखाबु–९ बस्ने दुर्गा लिम्बूले दाजु ३१ वर्षीय भक्तबहादुर लिम्बूको हत्या गरेका हुन् । सामान्य घरायसी विवाद हुँदा मङ्गलबार साँझ करिव ७ बजेतिर भाइले खुकुरी प्रहार गर्दा दाजुको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उक्त घटना घटाई फरार भएका भाइलाई भने बुधबार विहानै खेजेनिम र लिङ्खिमको सिमानाबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार दाजुको घरभित्र भएको बाकस फोरेर नगदसमेत लगेका र सो नगदसहित उनी पक्राउ परेका हुन् । यता सवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।