इजरायलको कृषि प्रगतिबाट नेपाल ले फाइदा लिन आग्रह
फोटो : अन्नपूर्ण (चेम्बर भवनमा आयोजित 'एग्रिटेक इजरायल २०१५'विषयक अन्तरसंवादमा इजरायली राजदूत यारुन मेयरलगायतका सहभागी।)
काठमाडौं : नेपालका लागि इजरायली राजदूत यारुन मेयरले इजरायलले कृषि क्षेत्रमा हासिल गरेको उपलब्धिबाट पाठ सिकी नेपालले फाइदा लिनुपर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्स र इजरायली दूतावासद्वारा आइतबार चेम्बर भवनमा संयुक्त रूपमा आयोजित 'प्रेजेन्टेसन एन्ड इन्ट:याक्सन प्रोग्राम अन एग्रिकल्चर एक्जिविसन एन्ड कन्फरेन्स, एग्रिटेक इजरायल २०१५' विषयक अन्तरसंवाद कार्यक्रममा मेयरले इजरायलमा विकसित सिंचाइ प्रविधिबाट पाठ सिक्न नेपाललाई आग्रह गरेका हुन्।
कार्यक्रममा राजदूत मेयरले इजरायलले नेपालको कृषि क्षेत्रको विकासमा पुर्याएको सहयोगबारे चर्चा गर्दै व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान गर्न जोड दिए।
उनले इजरायलको कृषिसम्बन्धी उत्पादन, सीप र प्रविधिको नमुना प्रदर्शनको रूपमा रहेको एग्रिटेक इजरायल-२०१५ मा सहभागी हुन नेपाली उद्यमीलाई अनुरोधसमेत गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका उद्यमी व्यवसायी इजरायलका उद्यमी व्यवसायीसँग संयुक्त रूपमा कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए। यसका लागि राजदूतको रचनात्मक सहयोगको अपेक्षा रहेको उनको भनाइ थियो।
श्रेष्ठले नेपालका प्रांगारिक कृषि उत्पादनको छिमेकी मुलुक चीन, भारत र हङकङजस्ता बजारमा अत्यधिक माग रहेको बताउँदै नेपालमा लगानी गरी आर्थिक फाइदा लिन इजरायलका उद्यमी व्यवसायीलाई पनि अनुरोध गरे।
उनले इजरायलमा कृषि व्यवसायको अनुभव सँगालेका नेपालीले व्यावसायिक कृषि प्रारम्भ गरेको जानकारी गराउँदै कृषि व्यवसायको विकासका लागि इजरायलले नेपाललाई पु:याउँदै आएको सहयोगलाई अझ प्रभावकारी बनाउन पनि अनुरोध गरे।
कार्यक्रममा इजरायलका कृषि विज्ञ एभनर एहरलिकले इजरायलले हासिल गरेका सीप र प्रविधिबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले एग्रिटेक इजरायल २०१५ बारे जानकारी प्रस्तुत गर्दै वैशाख १५ देखि १७ सम्म इजरायलको तेलअभिभमा हुने १९औं अन्तर्राष्ट्रिय कृषि मेला तथा सम्मेलनमा सहभागिताबाट नेपालले उल्लेख्य ज्ञान हासिल गर्न सक्ने बताए।
विगत तीन दशकदेखि हुँदै आएको यस्तो सम्मेलनको अब हुने संस्करणमा एक सय १५ मुलुकबाट करिब सात हजार कृषि प्रविधि कम्पनीले सहभागिता जनाउने उनले बताए।
प्रत्येक तीन वर्षमा एकपटक हुने यस्तो प्रदर्शनले इजरायली तथा अन्तर्राष्ट्रिय कृषि प्रविधिसमेत प्रदर्शन गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।
उनले मेलाका अवसरमा पोस्ट हार्भेस्ट तथा खाद्य चुहावट रोक्ने प्रविधिबारे सम्मेलन हुनेसमेत जानकारी गराउँदै एग्रिटेक इजरायल २०१५ मा सहभागी हुन उद्यमी व्यवसायीलाई अनुरोध गरे।
कार्यक्रममा सहभागी चेम्बरका सदस्य, संघसंस्थाका प्रतिनिधिले इजरायलले विकास गरेको प्रविधि, सीप र व्यावसायिक कृषि क्षेत्रमा देखिएका समस्याबारे जिज्ञासा राखेका थिए।