यी हुन् विश्‍वकै कान्छा निर्देशक सौगात

पाँच वर्षको उमेरमा सौगातले सनफ्लावर तेलको एउटा विज्ञापनमा अभिनय गर्ने अवसर पाएका थिए। त्यसपछि वास्तविक घटनामा आधारित वृत्तचित्र 'कखरा' मा उनले अभिनय गरे। 
यसको केही समयपछि कथानक चलचित्र 'जन्मभूमि' मा अभिनयको लागि उनलाई प्रस्ताव आयो। यो चलचित्रको छायांकनको लागि केही समय काठमाडौंबाहिर जानुपर्ने भयो।राजधानीको सूर्योदय आवासीय विद्यालयमा कक्षा २ मा पढ्ने सौगातले परीक्षा सकिएको मौकामा जन्मभूमिमा अभिनय गर्ने समय मिलाए। जन्मभूमिको छायांकन गर्ने क्रममा उनले अभिनयमा भन्दा निर्देशकले के गर्छन्? 
कसो गर्छन्? चलचित्र कसरी बन्छ? चलचित्र बन्नुअघि के कस्तो काम गर्नुपर्छ भन्ने विषयमा ध्यान दिन थाले। सात वर्षको उमेरमा हिँड्दै गरेका सौगातले घर फर्किएर बाबासँग भन्न थाले, 'म पनि चलचित्रको निर्देशन गर्छु।'
यो कुरा सुनेर उनका बाबा अभिनेता गजित विष्टलाई अनौठो लाग्यो। सौगातले त जिस्किएरै भनेका थिए तर गजितले भने उनको कुरालाई गम्भीर रूपमा लिए। सानै उमेरमा सौगातले निर्देशन गर्न सक्छन् कि सक्दैनन् भन्ने उनलाई लाग्यो।
बाबा गजितले इन्टरनेटमा विश्वकै सबैभन्दा कम उमेरका निर्देशकको बारेमा खोजे। भारतको बैंगलोरका नौ वर्षका क्रिसेन श्रीकान्त नामका बालकले नौ वर्षकै उमेरमा चलचित्र निर्देशन गरेको उनले पत्ता लगाए। त्यो पनि आठ वर्षअघि।
त्यसबेला अहिलेको जस्तो धेरै आधुनिक प्रविधिहरू पनि थिएनन्। अहिलेभन्दा चलचित्र निर्देशन गर्न गाह्रो थियो। गजितलाई लाग्यो आठ वर्षअघि अहिलेजस्तो सजिलो प्रविधि नहुँदा पनि नौ वर्षको बालकले चलचित्र निर्देशन गर्न सक्छन् भने अहिलेको आठ वर्षको बालकले पनि पक्कै सक्छन्। उनले सौगातको लागि चलचित्र निर्देशन गर्ने वातावरण मिलाए। 
उनले सौगातलाई एउटा चलचित्रको कथा सुनाए। 'बाबाले चलचित्रको कथा सुनाउँदा म त रोएँ,' सौगातले भने, 'तर, मलाई कसैले नगरेको राम्रो काम गर्ने चाहना थियो त्यसैले यो काममा पनि सफल हुन्छु भन्ने लाग्यो।'
पहिले अभिनय गरेका चलचित्रमा निर्देशकले गरेको कामलाई ध्यान दिएर हेरेका सौगातले आत्मविश्वास बटुलिसकेका थिए। 'सुरुमा त मैले बाबालाई जिस्केर भनेको थिएँ उहाँले त साँच्चै पो ठान्नु भएछ', सौगातले भने, 'त्यसपछि मलाई पनि सक्छु भन्ने आँट आयो।'
 
गजितले सौगातलाई धेरै चलचित्रकर्मीसँग भेटाए। कसैले सक्छौं गर्नुपर्छ भने त कसैले पत्याएनन्। सौगात भन्छन्, 'कति अंकलहरूले तिमी सानै छौ चलचित्र निर्देशन गर्न सक्दैनौं भन्दा दु:ख लाग्यो।'
जब उनले चलचित्र निर्देशन गर्ने पक्का भयो उनले अग्रज चलचित्रकर्मीबाट धेरै कुरा सिके। बाबा गजित विष्ट, काका गम्भीर विष्ट, निर्देशक नवल नेपाल, छायाकार दिव्यराज सुवेदी, मुख्यसहायक निर्देशक गोविन्दसिंह क्षेत्रीलगायतसँग चलचित्रसँग सम्बन्धित कुराहरू सिके।
क्यामेराका विभिन्न एंगल, सट, कुन दृश्यमा कस्तो अभिनय आवश्यक पर्छ जस्ता धेरै कुराहरू सौगातले सिके। 'सबैभन्दा महत्त्वपूर्ण कुरा त धैर्य चाहिने रहेछ', निर्देशन गर्दाको अनुभव सुनाउँदै सौगातले भने, 'ठूलै मानिसलाई त निर्देशन गर्न गाह्रो हुन्छ भने मलाई पनि त्यति सजिलो भएन।'
उनको बुझाइमा चलचित्र भनेको दर्शकलाई मनोरञ्जन दिने समाजलाई शिक्षा र सन्देश दिने साधन हो। 'चलचित्र निर्देशन गर्नुभन्दा पहिले क्यामेरा यान, लाइटम्यान, साउन्डम्यान, सहायक निर्देशक, स्पटब्वाई, सम्पादक, कलाकारलगायतका टिमका सबै मानिसको काम केहो भन्ने बुझ्नुपर्दो रहेछ', सौगात भन्छन्, 'ती सबै मान्छेको नेतृत्व गरेर काम गर्नुपर्छ।'
सौगातले विश्वकै सबैभन्दा कान्छा निर्देशकको रूपमा गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाएका छन्। उनले निर्देशन गरेको चलचित्र प्रदर्शन भएको दिन उनी सात वर्ष तीन सय ४० दिनका थिए।
सौगातले चलचित्र निर्माण गर्दाको सम्पूर्ण घटनाक्रमलाई क्यामेरामा कैद गरियो। उनले सुरुदेखि प्रदर्शन हुनुभन्दाअघिका सम्पूर्ण काममा गरेको सहभागितालाई समेटेर तयार गरिएको सामग्री गिनिज वर्ल्‍ड रेकर्डस्लाई प्रमाणको रूपमा बुझाइएपछि उनले विश्वकै कान्छा चलचित्र निर्देशकको रूपमा मान्यता पाए। 'मलाई मेरो देश विश्वमा चिनाउने मन छ', सौगातले भने, 'अझै धेरै काम गरेर आफ्नो र देशको नाम चम्काउनेछु।'
उनले चलचित्र निर्देशन गर्दा छायांकन हुने ठाउँमा दौरासुरुवाल नै लगाएका थिए। राष्ट्रिय पोसाकको रूपमा चिनिने दौरा सुरुवाल सधैं लगाउनुको कारण पनि देशलाई चिनाउनु नै भएको उनको भनाइ छ।
कक्षा २ मा अध्ययनरत सौगात पढाइमा पनि तेज छन्। अहिलेसम्मको परीक्षामा उत्कृष्ट तीनभित्र पर्छन्। यस्तै खेलकुद र नृत्यमा पनि उनको दक्खल छ। गृहकार्य समयमै सक्छन्। 
केही समय पढ्छन् अनि निर्देशनलाई प्रभावकारी बनाउन विभिन्न भाषाका चर्चित चलचित्र हेर्छन्। बिहानको समय पढाइलाई छुट्ट्याउँछन् भने साँझको समय गृहकार्य र चलचित्र हेर्न छट्ट्याउँछन्। 
पढाइमा उनलाई गणित विषय सजिलो लाग्छ भने नेपाली चाहिँ अलि गाह्रो लाग्छ। 'सौगात हाम्रो विद्यालयको प्रतिभाशाली विद्यार्थी हो', उनी अध्ययनरत सूर्योदय आवासीय माविका अतिरिक्त क्रियाकलाप संयोजक सुनिल शर्मा भन्छन्, 'उनको पढाइदेखि अतिरिक्त क्रियाकलापमा प्रस्तुति पनि विशेष हुन्छ।'
विद्यालयले आयोजना गर्ने र प्रतिनिधित्व गर्ने कुनै पनि कार्यक्रममा सौगातलाई छुटाउन नसकिने उनले बताए। भविष्यमा पनि उनी चलचित्र निर्देशन गर्न चाहन्छन्। 'पहिले त पढाइमा ध्यान दिनुपर्‍यो नि', सौगातले भने, 'एउटा चलचित्र बनाउन चार/पाँच महिना लाग्छ।
पढाइ नसकिउन्जेल दुईदुई वर्षमा मात्र चलचित्र निर्देशन गर्छु।' चलचित्र निर्देशन गर्न चाहाने आफूजस्तै साना साथीहरूलाई उनी सुझाव दिन्छन्, 'नसकिने त कुरा छैन तर धेरै लगनशीलता चाहिन्छ अनि मेहनत पनि गर्नुपर्छ।'
आफूले निर्देशन गरेको चलचित्र एक पटक सबैलाई हेरिदिन उनको आग्रह छ। 'मैले गिनिज बुकमा नाम लेखाएँ भनेरमात्र होइन', उनले भने, 'चलचित्र साँच्चै राम्रो बनेको छ।'
-