मलेसियाका नेपालीलाई भद्रगोलले हँसायो, पार्वतीले नचाइन्
फोटो :अर्जुन काफ्ले
मलेसिया : बल र ब्याट लिएर मञ्चमा पुगेका भद्रगोलका अर्जुन घिमिरे (पाण्डे) र कुमार कटेल (जिग्री) ले जब आफ्ना प्रस्तुति दिन थालेपछि दर्शक पेट मिची मिची हाँस्न थाले । रोजगारीको अवसर नपाएर युवा विदेशिनुपर्ने बाध्यताप्रति सरकारले ध्यान नपुर्याएको कुरामा उनीहरुले व्यंग्य गरेका थिए ।
मलेसियाको मुहारमा शनिवार आयोजित फ्रेन्डसिप धमाकामा कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । प्रवासी कलाकार मञ्च मलेसियाको व्यावस्थापनमा भएको सागीतिक कार्यक्रममा स्थानीय र नेपालबाट आएका कलाकारले प्रस्तुति दिएका थिए ।
भद्रगोल टेलिफिल्मबाट चर्चामा आएका अर्जुन र कुमारलाई सोही टेलिफिल्मका अर्का कलाकार सुवास कार्की (वेलासे)ले साथ दिएका थिए । योग्यता विनाका मान्छेलाई सोर्सफोर्समा जागिर लगाउने र योग्यता भएलाई विदेशिन बाध्य पार्ने प्रति उनीहरुले व्याङ्ग गर्दा उपस्थित दर्शकले आफ्नै पीडा बुझेको भन्दै ताली पिटे ।
कार्यक्रममा लोक दोहरी गायिका जानकी तारमी मगरले करिब आधा दर्जन लोक गीत गाइन् । गायिका सेलिना कुवँरले केही आधुनिक गीत गाएर दर्शकलाई मनोरञ्जन दिइन् ।
पार्वती राईले नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शक उफ्री उफ्री नाचेका थिए । कामुक पहिरनमा प्रस्तुत पार्वतीले नृत्य गरिँरहदा दर्शक स्टेजसम्मै पुगेका थिए ।
प्रवासी कलाकार मञ्च मलेसियाका कलाकार आइदीप प्रधान, रोशन पुन र मनोज विक लगायतले आफ्नो गीत प्रस्तुत गरेका थिए । सोही मञ्चका केही कलाकारले सामुहिक नृत्य समेत प्रस्तुत गरे ।
कार्यक्रम संयोजक अमिर अधिकारीका अनुसार यस्ता कार्यक्रमले प्रवासमा रहेका कलाकार र नेपालबाट आएका कलाकारको सेतुको काम गर्ने बताए । चिनीयाँ नयाँ वर्षको विदामा फुर्सदिला बनेका नेपाली श्रमीकलाई मनोरञ्जन दिन वर्र्र्षेनी यस्ता सांगीतिक कार्यक्रम गरिदै आएको छ ।
प्रमोद नआउदा दर्शक जिल्ल
सो कार्यक्रमको कलाकार व्यावस्थापन गरेको फ्रेन्डसिप इभेन्ट गुप्रले गायक प्रमोद खरेललाई कार्यक्रममा ल्याउने भनेपनि खरेल कार्यक्रममा नआउँदा दर्शक निरास बनेका थिए ।
इभेन्टका निर्देशक कृष्ण पुलामीले गायक खरेलले आयोजकलाई धोका दिएको बताए । कार्यक्रम मलेसियाका विभिन्न ५ शहरमा गर्ने र मुख्य आर्कषक गायक खरेल रहने भनेर टिकट बेचिएको थियो ।
खरेलको प्रस्तुती हेर्न भनेर महगो टिकट काटे पनि खरेल नआउने खबर पाएपछि केही दर्शकले होहल्ला गरेका थिए ।
दर्शकलाई प्रमोद ल्याउने भनेर फे्रन्डसिप इभेन्टले टिकट कटाएर झुक्कयाएको मुहारमा रहेका खोटाङ्गका सन्देश राइले बताए । यता पुलामीले भने पेश्की रकम लिएर खरेल दक्षिण कोरीया उडेको बताए ।