प्याराग्लाइडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका युवाको सकुशल उद्धार

कास्की, फागुन २४–

प्याराग्लाइडिङ्ग गर्ने क्रममा आज दिउँसो पोखरास्थित फेवातालमा खसेका एक युवालाई सशस्त्र प्रहरी बलको फेवाताल रेस्क्यु टोलीले सकुशल उद्धार गरेको छ । पोखरा उपमहानगरपालिका ९ नयाँबजार बस्ने २० वर्षिय एलिस थापा प्याराग्लाइडिङ्गको अभ्यास गरिरहेको अवस्थामा एक्कासी फेवातालमा खसेको थाहा पाउनासाथ नजिकै रहेको फेवाताल रेस्क्यु टावरबाट तत्काल खटिएको एपीएफ टोलीले उनलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । उनका अनुसार प्याराग्लाइडिङ्ग गरिरहेको वेला दिउँसो करीव साँढे १२ बजे फेवातालमा खसेका निज थापालाई विपद व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उद्धार गरी फेवातालबाट बाहिर निकालेको थियो । फेवाताल तथा त्यसपासपासको क्षेत्रमा आकस्मिक रुपमा कुनै दुर्घटना भएमा पीडितलाई तत्काल उद्धार र सहयोग पु¥याउने अभिप्रायले सो टावरमा एपीएफ टोली खटिदै आएको छ । यसअघि पनि विभिन्न समयमा उक्त तालमा भएका डुंगा दुर्घटनामा परेका पीडितहरुको समेत सो टावरमा रहेको एपीएफ टोलीले सकुशल उद्धार गरिसकेको उनले जानकारी दिए ।