युवासंघका उपाध्यक्ष गृहमन्त्रीले खदा ओढाएको १३ घण्टा नबित्दै प्रहरी खोरमा
- राजेन्द्र अधिकारी
पोखरा, फागुन २४ – नेकपा एमाले निकट युवा संघमा आवद्ध पोखराका शिव गुरुङ ‘महेन्द्रे भोटे’ लगायतको टोली प्रहरी खोरमा परेका छन् । शुक्रबार बेलुका ओजन डिस्कोमा प्रहरीको टाउको फुटाले पछि महेन्द्रे भोटे लगायतको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । युवा संघ नेपालको गण्डकी अञ्चलका उपाध्यक्ष रहेका भोटेलाई गुण्डागर्दीकै लागि एमालेका केही नेताहरुले संरक्षण गर्दै आईरहेका थिए ।
नेकपा एमालेका क्षेत्र नं. ३ का सभासद् रवीन्द्र अधिकारी र युवा संघका केन्द्रीय महासचिव राजीव पहारी निकट मानिएका भोटेलाई प्रहरीले पक्राउ गरेपछि चौतर्फी दवाव आउन शुरु गरे पनि कास्की प्रहरीले कारवाही अगाडि बढाएको छ । महेन्द्र भोटे लगायतको टोलीले रडले प्रहरीको टाउकोमा हानेका थिए । जसले गर्दा प्रहरीको टाउकोमा टाँका लगाउनु परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी हरि पालले सर्वसाधारणलाई आतंक मच्चाउनेमात्र नभई प्रहरीकै टाउकोसम्म फुटाल्न पछि नपर्ने यस्ता गुण्डाहरुलाई जस्तोसुकै दवाव आएपनि नछाड्ने बताए । एसपी पालले भने–‘बरु कास्की छोड्न तयार छु, तर यी गुन्डाहरुलाई कारवाही नगरी छाड्दिन ।’
कास्की प्रहरीले पोखरा–१२ लालीगुराँस टोल बस्ने शिव गुरुङ उर्फ ‘महेन्द्रे भोटे’, पोखरा–१२ माटेपानी बस्ने दिलबहादुर गुरुङ, लेखनाथ नगरपालिका वडा नं.१८ बागमारा बस्ने वर्ष २१ को हरि अधिकारी, पोखरा–१५ बस्ने वर्ष ३२ को राजु गुरुङ, सोही ठाउँ बस्ने वर्ष २५ को शिशिर भुजेल, सोही ठाउँ बस्ने वर्ष २५ कै बालकृष्ण राना, सोही ठाउँ बस्ने वर्ष २७ को किरण गुरुङ, सोही ठाउँ बस्ने वर्ष ३० को गोपी गुरुङ, पोखरा–१४मझेरीपाटन बस्नेवर्ष २५ को सोम गुरुङ, स्याङ्जा जिल्ला चापाकोट घर भई हाल पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २४ को रोशन भन्ने तुलबहादुर थापा र सुर्खेत जिल्ला लाटीकोइली–१७ घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्ने वर्ष २४ को जीवन ओली रहेका छन् । शुक्रबार राती २ बजे ओजन कम्प्लेक्समा विजेपीका साहू सरोज भट्टराईसँग भारतीय पर्यटकको विवादलाई लिएर झैझगडा हुँदा सुरक्षाका लागि पुगेका प्रहरीमाथि महेन्द्र भोटेलगायतको टोलीले आक्रमण गरेको थियो । हातहतियारसहित रहने गुन्डाहरुको अखडा भनेर चिनिने ओजन कम्प्लेक्समा प्रहरीमाथि यस्तो घटना पटक–पटक हुँदै आईरहेका थिए । विगतमा राजनीतिक संरक्षण पाएर बच्दै आएका थिए ।
१३ घण्टा अघि पोखरामा आएका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई मणिपाल शिक्षण अस्पतालमा खादा ओढाउँदै आफ्नो फेसबुक वालमा फोटोहरु अपलोड गरेका महेन्द्र भोटे त्यसको केही घण्टामा नै प्रहरी खोरमा थुनिएका थिए ।
पोखरामा जग्गा व्यवसायी, उद्योगी लगायत सर्वसाधारणलाई थर्काएर आतंक मच्चाउँदै रकम असुल्ने महेन्द्र भोटे प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका व्यक्ति हुन् । उनलाई कास्कीका तत्कालिन एसपी रमेश खरेलले पक्राउ गरेर कारवाही गरेका थिए । पेस्तोल सहित समातिएका भोटले प्रहरीको खोरमा महिनौं बिताएर सजाय भोग्दै आएका छन् ।
कास्की प्रहरीले घटनामा संलग्न दोषीलाई ज्यान मार्ने उद्योगमा कारवाही अगाडि बढाउने भएको छ। घटनामा घाइते भएका प्रहरी जवान भीमबहादुर रानाका अनुसार ओजन कम्प्लेक्समा रहेका गुन्डाहरुले फलामे हातहतियार लिएर आक्रमण गरेका थिए । प्रहरीले घटनामा प्रयोग गरिएका हात–हतियार समेत बरामद गरिसकेको छ ।
कास्की प्रहरीले पटक–पटक पक्राउ गर्दै आईरहेका महेन्द्र भोटे शुरुमा नेपाली काँग्रेससँग आवद्ध थिए । पहिले सुजाता कोइरालासँगको निकट रहेरा गुण्डागर्दी गर्दै आईरहेका भोटे सुजाताको पावर कम हुँदै गए पछि एमालेसँग नजिकिएका थिए ।
पछिल्लो समयमा नेपालको राष्ट्रियस्तरका टेलिभिजनका पत्रकारहरुसँग मिलेर महेन्द्रे भोटेले ठेक्कापट्टा र गुण्डागर्दीको धन्दा सञ्चालन गर्दै आइरहेका छन् । भोटेका आडमा केही पत्रकारहरुले पोखरामा रातारात अकुत सम्पत्ति कमाएका छन् । यस विषयमा पनि कास्की प्रहरीले महेन्द्र भोटेको पत्रकारहरुसँगको सम्बन्धका बारेमा टेलिफोन रेकर्डदेखि ओजन डिस्कोमा हुने जमघटलाई निगरानी बढाउनु जरुरी छ । यस्तै गुन्डाहरुको टोलीसँग साँठगाँठ बढाएर रकम असुल्ने गिरोह मध्येका एकजना पत्रकारलाई भर्खरैं मात्र पत्रिकाको सञ्चालक टिमले कारवाही गरिसकेको छ ।