रानीबारी हत्याकान्डका अभियुक्त १२ वर्षपछि समातिए

फोटो :फाइल तस्‍बिर
काठमाडौं : रानीबारीमा १२ वर्ष अघि भएको हत्याकान्डमा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। २०५९ असार ३१ गते बिहान रानीबारीमा एक दम्पत्तीको ओछ्यानमै खुकुरी प्रहार गरी वीभत्स हत्या गरिएको थियो। हत्याराले इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको हत्या गरेपछि बालिकालाई हत्या प्रयास गरेका थिए।
 
खकुरी प्रहार गरी घाइते भएकी बालिका आज्ञाश्री उपचारपछि सामान्य अवस्थामा आएकी थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अभियुक्त सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआइजी हेमन्त मल्ल ठकुरीले निकै लामो अनुसन्धान र निरन्तरको प्रयासपछि  अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको र  आजै सार्वजनिक गरिने बताए।
घटनाको छानबिन तथा अभियुक्तको खोजी गर्न प्रहरीले पटकपटक कार्यदल बनाए पनि प्रहरीले अभियुक्त पहिचान गर्न सकेको थिएन । रानीबारी हत्याका अभियुक्त पक्राउ गर्न नसकेकोमा प्रहरीको आलोचना पनि भएको थियो ।