एसएलसी सफलताका दस सूत्र


भाइबहिनीहरू, एसएलसी परीक्षा नजिकिँदै गर्दा तिमीहरूको मनको ढुकढुकी पनि बढिरहेको होला। कतिपयलाई पढाइका लागि समय नै नपुगेजस्तो पनि लागेको होला भने कतिपयले दुईचारपटक दोहो:याई सक्यौ होला। फलामे ढोका मानिने यस परीक्षालाई बाहिर जे जस्तो रूपमा भयावह तरिकाले प्रचार गरिन्छ, वास्तवमा यस्तो हुँदैन।

विद्यालयमा १० कक्षासम्म पढ्दा दिइने धेरै परीक्षाजस्तै एक परीक्षा हो- एसएलसी। हरेक परीक्षामा जस्तै यसमा पनि मेहनत गरी पढ्यो भने फलामे ढोकालाई सजिलै पार लगाउन सकिन्छ। त्यसैगरी अन्य केही कुरामा ध्यान दियो भने आफूले चाहेजति अंक ल्याएर परीक्षा उत्तीर्ण गर्न पनि सकिन्छ। 
 
आगामी चैत ५ गतेबाट सञ्चालन हुने यस वर्षको प्रवेशिका परीक्षामा देशभरका करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्। राष्ट्रियस्तरको परीक्षा भएका कारण विद्यालय तहमा लिइने अरू सामान्य परीक्षाभन्दा यस परीक्षालाई अलि पृथक् किसिमले लिने प्रवृत्ति अधिकांश विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकमा देखिन्छ।
 
कुनै पनि विषयमा संवेदनशील हुनु आवश्यक छ। तर, सफलताका नाममा अपनाइने अति संवेदनशीलताले लाभभन्दा हानि निम्त्याउनसक्ने कुरालाई नकार्न सकिँदैन। प्रवेशिका परीक्षाप्रतिको दृष्टिकोणले विद्यार्थीमा मनोवैज्ञानिक त्रास उत्पन्न गराइरहेको हुन्छ। यस परीक्षालाई अन्य परीक्षाजस्तै सामान्य परीक्षाका रूपमा नलिई ठूलै हाउगुजीका रूपमा लिने र परीक्षाका बेला बढी आत्तिने प्रवृत्तिले विद्यार्थी अनपेक्षित परिणामको भागीदार बन्नुपर्ने हुन्छ। त्यसैले नजिकै आएको प्रवेशिका परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीका सफलताका लागि केही महत्त्वपूर्ण सूत्र यहाँ प्रस्तुत छ : 
 
पाठ्यक्रमबारे ज्ञान : राष्ट्रियस्तरमा लिइने परीक्षा भएकाले प्रवेशिका परीक्षामा पाठ्यक्रमकै परिधिमा रहेर प्रश्नपत्रहरू निर्माण गरिएका हुन्छन्। पाठ्यक्रमसम्बन्धी ज्ञानले विद्यार्थीलाई कति अंकभारका कस्ता खालका प्रश्नहरू कुन रूपमा सोधिन्छन् भन्ने कुराको जानकारी हुन्छ। पाठ्यक्रमका बारेमा जानकारी भएपछि विद्यार्थीलाई तदनुकूल तयारी गर्ने पृष्ठभूमि तयार हुन्छ। यससम्बन्धी ज्ञान नहुँदा विद्यार्थीको उत्तर लेख्ने शैली, समयविभाजन आदिमा समेत असर पुग्ने भएकाले परीक्षामा सफलता हासिल गर्न चाहने परीक्षार्थीका लागि पाठ्यक्रमका बारेमा बोध हुनु अत्यावश्यक देखिन्छ। 
 
भ्रम निवारण : प्रवेशिका परीक्षालाई फलामे ढोकाका रूपमा व्याख्या गरिएका कारण कतिपय विद्यार्थी परीक्षा आउनुभन्दा महिनौं अघिदेखि मनोवैज्ञानिक रूपमा आतंकित भइरहेका हुन्छन्। राष्ट्रियस्तरको परीक्षा भएका कारण यसका केही मर्यादित सीमा हुन्छन् नै। त्यसैले पूर्वअनुभव नभएका विद्यार्थीका मनमा परीक्षाका बारेमा केही असामान्य कौतूहल जाग्नु स्वाभाविक हो। तर, अधिकांश विद्यार्थीले सोचेजस्तो यो परीक्षा आफैंमा त्यति जटिल भने छैन। पर्याप्त पूर्वतयारी गरेर जाने विद्यार्थीका लागि यो विद्यालय तहमा लिने अन्य सामान्य परीक्षाजस्तै हो। त्यसैले आतंकित मनमा महिनौंदेखि जमेको भ्रम निवारण गरी परीक्षाको तयारीमा जुट्नेले नै उत्कृष्ट नतिजा हासिल गर्न सक्छन्। 
 
आत्मविश्वास र निर्भीकता : परीक्षार्थीका लागि यी दुवै कुरा सफलताका अचुक अस्त्र नै हुन् भन्दा अन्यथा हुँदैन। 'आधा युद्ध त आत्मविश्वासले नै जितिन्छ' भन्ने लोकोक्ति त्यसै प्रचलित भएको होइन। प्रवेशिका परीक्षा दिने विद्यार्थीका मनमा धेरै किसिमका भयले बास गरिरहेका हुन्छन्। कमजोर विद्यार्थीका मनमा चिट चोर्ने अवसर नपाइने हो कि?, सँगै बस्ने साथीले नदेखाइदिने हो कि? भन्नेजस्ता डरहरू रहन्छन् भने प्रतिभाशाली विद्यार्थीमा अर्काले उत्तरपुस्तिका तानेर हैरान पार्ने हुन् कि? अरूले अनावश्यक हल्ला गरेर लेख्नै नदिने हुन् कि? कतै परीक्षा नै स्थगित पो हुने हो कि? भन्नेजस्ता भय गडेको हुन्छ। तर, प्रत्येक परीक्षाकेन्द्रमा भरिसक्य परीक्षार्थीले सोचेभन्दा भिन्न वातावरण सिर्जना गर्ने अधिकतम प्रयास गरिएको हुन्छ। त्यसैले मनमा कुनै संशय नराखी आत्मविश्वास र निर्भीकतापूर्वक परीक्षामा सहभागी हुनु आवश्यक छ। 
 
पर्याप्त पूर्वतयारी : परीक्षापूर्व गरिने तयारीले विद्यार्थीलाई परीक्षा भवनभित्र तीन घन्टा व्यस्त बनाउँछ। पूर्वतयारीभित्र परीक्षाका लागि गरिने अध्ययनबाहेक अन्य धेरै कुरा पनि पर्छन्। परीक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री व्यक्तिगत भयो भने यसले स्वयं परीक्षार्थीलाई फाइदा पु:याउँछ। त्यसैले मसी, कलम, मेटौरो, ज्यामितीय सामग्री, प्रवेशपत्रजस्ता अत्यावश्यक सामग्री सधैं आफूसँग सुरक्षित राख्नुपर्छ। 
 
स्वास्थ्यप्रति संवेदनशीलता : परीक्षाका बेला स्वास्थ्यमा असाध्यै ध्यान दिनुपर्छ। केही गरी परीक्षाका बेला बिरामी परिहालियो भने परीक्षा अपेक्षाकृत नरहन पनि सक्छ। त्यसका लागि परीक्षा सुरु हुनुभन्दा केही दिन अघिदेखि आहारविहारमा ध्यान पु:याउनुपर्छ। परीक्षा अवधिभर शरीरलाई तत्काल असर नपु:याउने किसिमका हलुका भोजन गर्ने बानी बसाल्नु आवश्यक छ। पर्याप्त पानी पिउने बानीले परीक्षार्थीलाई फाइदा पु:याउँछ। 
 
सामूहिक छलफल र टिपोट : आफ्ना सहपाठी साथीहरूसँग प्रश्नहरूका बारेमा छलफल गर्ने बानीले प्रवेशिका परीक्षालाई सहज बनाउँछ। विद्यार्थी मूल्याकंनका लागि प्रवेशिका परीक्षामा विशेषत: ज्ञान, सीप र अभिवृत्ति मापन गर्ने प्रकृतिका प्रश्नहरू सोध्ने गरिन्छ। आफूले हल गर्न नसकेका प्रश्नहरू सहपाठीले हल गर्नसक्ने भएकाले त्यसका लागि पनि सामूहिक छलफल प्रवेशिका सफलताको उत्तम उपाय मानिन्छ। सहपाठीबीच छलफल गरी निकालिएका निष्कर्ष टिपोट गर्ने बानी गरेमा पछि बिर्सिहाले पनि सम्झन सकिन्छ। 
 
समयतालिका निर्धारण : कतिपय विद्यार्थीले सानै उमेरदेखि समयतालिका निर्माण गरी पढ्ने बानी विकास गरेका हुन्छन्। एक सफल विद्यार्थीमा हुनुपर्ने गुणहरूमध्ये यो प्रमुख गुण मानिन्छ। उत्कृष्ट अंकसहित प्रवेशिकामा सफलता हासिल गर्न चाहने विद्यार्थीका लागि समयतालिका निर्माण र तदनुकूलको नियमित अध्ययन गर्ने बानी हुनु अपरिहार्य छ। समय निर्धारण गर्ने कार्य घरमा पूर्वतयारी गर्ने क्रममा मात्रै नभई परीक्षामा सम्मिलित हुँदाका बखत पनि गर्नु आवश्यक छ। सम्बन्धित प्रश्नको अंकभारलाई दृष्टिगत गर्दै उत्तर लेख्ने बानीको विकास गरे समयभित्रै सम्पूर्ण प्रश्न हल गर्न सकिन्छ। 
 
परीक्षाकेन्द्रको अवस्थाबारे ज्ञान : यातायातका साधन उपलब्ध हुने सहरी क्षेत्रमा खासै समस्या नभए पनि ग्रामीण भूभागका अधिकांश ठाउँमा पैदल हिँडेर परीक्षाभवनसम्म पुग्नुपर्ने अवस्था अझै पनि छँदैछ। त्यसैले आफूले परीक्षा दिने शिक्षणसंस्थाको अवस्थाबारे विद्यार्थी जानकार हुनु आवश्यक छ। आफ्नो घरबाट परीक्षाकेन्द्र पुग्न लाग्ने समयको मोटामोटी अनुमान पहिल्यै गर्नुपर्छ। घरबाट पुग्न सम्भव नभए केही दिनअगावै परीक्षाकेन्द्रमा पायक पर्ने गरी नजिकै बसोबासको व्यवस्था मिलाउनुपर्छ। आफूले परीक्षा दिने केन्द्रको अवस्थिति थाहा नभएर कतिपय विद्यार्थी परीक्षाका दिन मात्र हस्याङफस्याङ गर्दै केन्द्रको खोजीमा भौतारिरहेका हुन्छन्। यसले उनीहरूको परीक्षामा समेत असर पु:याउन सक्छ। 
 
अनुशासन र मर्यादापालन : हरेक परीक्षाका आफ्नै सीमा र मर्यादाहरू हुन्छन्। राष्ट्रियस्तरका परीक्षा भएकाले प्रवेशिका परीक्षाका त झनै ठूलो मर्यादा र परिसीमाहरू हुने नै भए। वास्तवमा प्रवेशिका परीक्षा परीक्षार्थीका लागि पूर्ण अनुशासन र मर्यादाभित्र रहेर आत्ममूल्याकंन गर्ने सुनौलो अवसर पनि हो। त्यसैले परीक्षा दिन परीक्षाभवनभित्र प्रवेश गरेपछि प्रत्येक परीक्षार्थी अनुशासित र मर्यादित हुनुपर्छ। चिट चोर्ने, पिसाब फेर्न जाने बहानामा पुस्तक, अभ्यासपुस्तिका वा अन्य सहयोगी सामग्रीहरूको पाना च्यात्नतिर लाग्ने, आफूले मन लागेको गर्न पाइएन भनेर परीक्षा नै भाँड्न खोज्नेलगायतका गतिविधि परीक्षाको नीतिनियमविपरीत मानिन्छन्। यस्तो काम गर्ने मनशाय भएका विद्यार्थीलाई कारबाही हुने प्रावधान पनि छ। यसले स्वयं परीक्षार्थीको परीक्षा पनि बिग्रने सम्भावना भएकाले अनुशासित र मर्यादित भएर परीक्षा दिनु राम्रो हुन्छ। 
 
मौलिक, तार्किक र संक्षिप्त उत्तरमा जोड : उत्तर लेख्ने शैलीबारे अनभिज्ञता पनि प्रवेशिका परीक्षामा अपेक्षित सफलता हासिल नहुनुको प्रमुख कारण हो। परीक्षा भवनभित्र प्रवेश गरेर उत्तरपुस्तिका हात पर्नासाथ परीक्षाका लागि आवश्यक आफ्नो व्यक्तिगत विवरण भरी दायाँबायाँ दुवैतिर पर्याप्त स्थान छाडेर उत्तर लेखनका लागि तयार हुनुपर्छ। उत्तर लेख्दा पहिले प्रश्नको आशय राम्ररी बुझेर सकेसम्म बुँदागत रूपमा मौलिक र संक्षिप्त उत्तर दिनुपर्छ। सम्बन्धित प्रश्नको अंकभारअनुसार समय विभाजन गरेर उत्तर दिने, उत्तरलेखनमा मौलिकपनको छनक दिने प्रयास गर्ने र सकेसम्म राम्रा अक्षरमा सुस्पष्ट र तार्किक शैलीमा उत्तर लेख्नु राम्रो मानिन्छ। प्रश्नले अपेक्षा गरेभन्दा विपरीत अनावश्यक कुराहरूमा बहकिने, टोलाएर बस्ने, अर्काको हेर्न पाइन्छ कि भन्ने आशामा व्यर्थ समय फाल्नेजस्ता कार्यहरू परीक्षामा कहिल्यै गर्नुहुँदैन। सजिला प्रश्नहरू पहिले हल गर्ने, कुनै पनि प्रश्न नछाड्ने बरु आफूले जानेजति उत्तर लेख्ने बानीको विकास गर्नुपर्छ। लामो उत्तरको अपेक्षा गर्ने प्रश्नहरूमा आफ्नो निष्कर्ष दिने बानीले परीक्षार्थीको विशिष्टता झल्काउँछ।