त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान भोली अपराह्न ४ बजेसम्मको लागि रद्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान भोली अपराह्न चार बजेसम्मको लागि रद्ध गरिएको छ। | |
डिसीनेपाल डटकम संवाददाता - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान भोली अपराह्न चार बजेसम्मको लागि रद्ध गरिएको छ । विमानस्थलमा टर्किस एयरलाइन्सको विमान आज विहान दुर्घटना भएपछि हजारौँ यात्रुको विचल्ली भएको छ ।
आजका लागि तय गरिएका सबै अन्तर्राष्ट्रिय उडान रद्द भएपछि यात्रुहरु विचल्लीमा परेका हुन् । यसअघि आज साँझ पाँच बजेपछि उडान सञ्चालन हुने भनिएपनि सफल हुन सकेन ।विश्वका विभिन्न देशका लागि गन्तव्य तय गरी त्यहाँ पुगेका यात्रुका लागि अर्को उडान समय यकिन नगरिँदा उनीहरु थप अन्योलमा परेका हुन् । जापानको गन्तव्य लिएर विमानस्थल पुगेका शशी थापाले भन्नुभयो–“अर्को उडानको टुङ्गो नलाग्दा अन्योलमा परियो, अब घर फर्कने कि विमानस्थलमै बसेर अर्को उडानका लागि पर्खने हो दोधारमा परियो ।” त्यसैगरी, कतार जान लागेका दिनेश खड्काले उडान रद्द भएपछि आफू होटल फर्कन लागेको बताउँदै आफूजस्तै अन्य यात्रुहरु अन्योलमा परेको उल्लेख गर्नुभयो । यात्रु बस्ने र उनीहरुका सामान राख्ने स्थान नहुँदा बिचल्ली भएको हो । विमानस्थलबाट दैनिक ३५ अन्तर्राष्ट्रिय उडान हुने गरेको छ भने सोही सङ्ख्यामा विमान अवतरण हुँदै आएका छन् । उक्त उडान तथा अवतरणबाट १२ हजार यात्रु आवतजावत गर्दै आएका थिए । त्यसैगरी, आन्तरिकतर्फ दैनिक १५० वटा उडान र सोही सङ्ख्यामा विमान अवतरणबाट चार हजार यात्रु आवतजावत गर्दै आएका छन् । ती सबै यात्रु विमानस्थलमा नै रहेकाले विमानस्थल प्रवेशस्थल खचाखच भरिएको छ । आन्तरिक उडान सुचारु गरिए पनि विमानस्थलको अवस्था सहज हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएका सबै विमान कम्पनीलाई आफ्ना यात्रुको व्यवस्थापन गर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ । source..dcnepal |