अपडेट : जुम्ला दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो
जुम्ला/कालिकोट, चैत्र २ - सुर्खेत जुम्ला सडक खण्डअन्र्तगत जुम्लाको रारालिही १ मा बस दुर्घटना हुँदा मत्यु हुनेको संख्या १८ पुगेको छ । ११ घाइतेको जुम्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पनि ५ जनाको अवस्था चिन्ताजनक भएको स्थानीय मेघराज न्यौपानेले बताए ।
सोमवार विहान भएको दुर्घटनामा १३ को घटनास्थलमै मृत्यु भएको हो भने ५ जनाको उपचारका क्रममा मृत्यु भएको हो । त्यसमध्ये दुईको उपचारका लागि जुम्ला बजार लैजाने क्रममा र ३ को अस्पतालमा पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
जुम्लाबाट कालिकोटको नाग्म हुँदै सिजातर्फ जादै गरेको कर्णाली यातायातको ना४ख ४९७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । बसमा २९ जना सवार थिए । अधिकांश सिजा भेकका बासिन्दा गाडीमा सवार थिए । कुडारी प्रहरी चौकीले २९ जना बसमा सवार भएको जानकारी दिएको छ । जुम्ला निवासी बस चालक हर्क बुढा र सहचालक सागर बुढाको मात्र सनाखत भएको छ । अन्यको सनाखत हुन बाँकी छ । जुम्लाका प्रजिअ दिपेन्द्रराज पौडेलसहितको टोली घटनास्थल पुगेको छ । घाइतेको जुम्ला अस्पतालमा उपचार भइरहेको छ ।
बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल झरेको प्रहरीले जनाएको छ ।