प्रधानमन्त्रीले भने – विदेशको विकास देख्दा मलाई ‘फ्रस्टेसन’ हुन्छ

२ चैत, काठमाडौं । व्यवस्थापिका संसदअन्तरगत विकास समितिको बैठकमा सोमबार बिहान उपस्थिति जनाएका प्रधानमन्त्री सुशील कोइरालाले विदेश भ्रमणमा जाँदा देखेको विकासले आफूलाई ‘फ्रस्टेसन’ हुने गरेको बताए ।
  • विकास समितिको बैठकमा उपस्थित प्रधानमन्त्री सुशील कोइराला लगायत
‘नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल कहिले रनवे भत्किएर बन्द हुन्छ, कहिले बिजुली गएर उडान अवतरण अवरूद्ध हुन्छ, कहिले जहाज दुर्घटना भएर ४ दिनसम्म ठप्प हुन्छ,’ प्रधानमन्त्री कोइरालाले भने, ‘विदेश भ्रमणमा जाँदा उनीहरुको विकास देख्दा मलाई फ्रस्टेसन हुन्छ ।’
उनले त्रिभुवन विमानस्थलको विकल्पका रूपमा निजगढमा सेकेन्ड इन्टरनेशनल एयरपाेर्ट बनाइहाल्नुपर्नेमा जोड दिए । एउटा विमानस्थलका कारण नेपालको छबी अन्तर्राष्ट्रिय स्तरमा बिग्रिदै गइरहेकाे बताउँदै उनले एयरपोर्टसँगै काठमाडाैं तराइ द्रुतमार्ग समेत निर्माण तत्कालै सम्पन्न गर्नुपर्ने बताए ।
‘नेपालीहरुले विदेशमा ठूलो प्रोजेक्टहरू सफल पारिरहेका छन्, तर नेपालमा त्यो जनशक्तिमको सदुपयोग हुन सकेको छैन,’ प्रधानमन्त्री कोइरालाले भने, ‘राष्ट्रियताको नाराले मात्रै देश विकास हुँदैन, काम व्यवहारमा उतार्न सक्नुपर्छ ।’
काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक र निजगढमा बन्ने भनिएको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका बारेमा छलफल गर्न सोमबार विकास समितिको बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीसमेतलाई बोलाइएको थियो ।
बैठकमा सहभागी हुँदै प्रधानमन्त्रीले जग्गाको मुआब्जा विवाद तत्कालै समाधान गरेर विमानस्थल निर्माणलाई तीव्रता दिनुपर्ने बताए ।
उनले तत्काल दोस्रो अन्तराष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री कोइरालाले एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा पटक-पटक आउने समस्याले नेपाल र नेपालीको बेइज्जत भएको भन्दै अब तत्काल दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने बताए ।
उनले भने- ‘जग्गाको मुआब्जा विवाद मिलाएर दोस्रो अन्तराष्ट्रिय विमानस्थल बनाउनैपर्छ ।’
प्रधानमन्त्री कोइरालाले सरकार सिस्टममा नचलेको र कर्मचारी प्रशासनमा पनि व्यवसायिकता नभएकाले नेपालमा विकास निर्माणले गति लिन नसकेको बताए ।
प्रधानमन्त्री कोइरालाले शान्ति, स्थायित्व र लोकतन्त्र संस्थागत विकास हुन नसक्दा देश विकासमा पछि परेको धारणा राखे । विदेशी राष्ट्रको प्रगति र नेपालको हालत देख्दा आफूलाई हिनतावोध हुने गरेको उनले बताए ।
कम खर्चमा ठेक्का दिने प्रचलन रोक्नुपर्छ
प्रधानमन्त्री कोइरालाले विकास निर्माणको ठेक्का दिने हालको प्रक्रिया नै गलत भएको धारणा राखे । टेन्डर आह्वान गर्दा सबैभन्दा कम खर्चमा बनाउनेलाई कामको जिम्मा दिने हालको विधि परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री कोइरालाले भने, ‘थोरै पैसा हुनेले कम खर्चमा काम गर्न खोज्छ, उसँग राम्रो उपकरण पनि हुँदैन । त्यसैले विकास निर्माण गर्दा सबैभन्दा कम खर्चमा काम गर्नेलाई ठेक्का दिने काम रोक्नुपर्छ ।’
विकासका आयोजना अघि बढाउनु भन्दा अघि पर्याप्त छलफल र बहस हुनुपर्ने उनीहरुको जोड थियो ।
बैठकमा अर्थमन्त्री डा. रामशरण महतले दुबै आयोजनामा काम भन्दा कुरा धेरै भएको भन्दै अब छिटो निर्माण कार्य सक्नुपर्नेमा जोड दिए ।
‘हिजोको अवस्थामा सरकारसँग पुँजी थिएन, विदेशीको मुख ताक्नु पथ्र्यो । अहिले सरकारसँग पुँजी जुटाउने क्षमता छ,’ अर्थमन्त्री महतले भने, ‘निजी क्षेत्रले काम गर्न सकेनन् भने सरकार आफैले अघि बढाउनुपर्छ ।’
बैठकमा सहभागी पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, माधवकुमार नेपाल र एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले छिटो मुआब्जा विवाद मिलाएर दोस्रो अन्तराष्ट्रिय विमानस्थल र काठमाडौं तराई जोड्ने फास्ट ट्रयाक निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताए ।