नवल खड्काको हनिमुन: विवाहअघि नै हनिमुन

फोटो :नवल खड्का
लामो समयको प्रेमसम्बन्धपछि हाम्रो विवाह भएको हो। गायिका सत्यकला राई र म चार वर्षभन्दा लामो समय प्रेमसम्बन्धमा थियौं। हाम्रो प्रेमप्रसंगको बारेमा परिवारमा कसैलाई थाहा थिएन। 
 
हाम्रो भेटघाट, कुराकानी र एकअर्कासँग समय बिताउने काम अरूले थाहा नपाउने गरी हुन्थ्यो। विवाहअगाडि प्रेमसम्बन्धमा रहेकै बेला हामी एकअर्काप्रति समर्पित थियौं।

विवाहलगत्तै हनिमुन नै भनेर कतै जाने भन्ने त भएन तर विवाहअघिदेखि नै हामी दुईजना विभिन्न ठाउँमा घुम्न जाने गथ्र्यौं। यो क्रम विवाहपछिसम्म निरन्तर रह्यो। 
 
हामी दुईजना पहिलोपटक नगरकोटको क्लब हिमालयमा सँगै बसेका थियौं। सहरको भीडभाड, कामको व्यस्तता, साथीभाइभन्दा टाढा एकान्तमा सँगै समय बिताएको त्यो हाम्रो पहिलो अनुभव थियो। यो विवाहअघिकै कुरा हो।
 
विवाहपछि पनि नेपालका विभिन्न रमणीय ठाउँ घुम्न गयौं। अहिलेसम्म मैले २५ भन्दा बढी मुलुक घुमिसकेको छु तर मलाई नेपालकै रमणीय स्थानहरू मन पर्छ। 
 
हाम्रो देशजस्तो सुन्दर ठाउँ मैले कतै देखिनँ। त्यसैले समय निकालेर रमाइलोका लागि पारिवारिक घुमघाममा नेपालकै पोखरा, सौराहा, दोलखाको भीमेश्वरलगायतका विभिन्न ठाउँमा गएका छौं।
 
विवाहअघिकै कुरा हो। हामी दुईजना पहिलोपटक नगरकोटको क्लब हिमालयमा सँगै बसेका थियौं। सहरको भीडभाड, कामको व्यस्तता, साथीभाइभन्दा टाढा एकान्तमा सँगै समय बिताएको त्यो हाम्रो पहिलो अनुभव थियो। 
नयाँ जिन्दगीको सुरुआतमा हनिमुनको महत्त्व हुन्छ। भावी जीवनमा अगाडि बढ्न ऊर्जा दिने, सकारात्मक सोचको विकास गर्ने, रमाइलो र रोमान्टिक समय बिताउने, नयाँ सम्भावना पहिल्याउने, सम्बन्ध प्रगाढ बनाउने समयका रूपमा हनिमुनलाई लिन सकिन्छ। 
 
तर, हाम्रो विषयमा अलि फरक भयो। चार वर्ष लामो प्रेमसम्बन्धका क्रममा विवाहसम्म आइपुग्दा आत्मीय भइसकेका थियौं। एकअर्कालाई बुझ्न रमाइलो र एकान्त स्थानमा समय बिताउन, माया प्रगाढ बनाउन हनिमुनको महत्त्व विशेष हुन्छ।
 
मेरो अन्तरजातीय प्रेम र विवाहका बारेमा घरमा थाहा थिएन। थाहा भएको भए सायद स्वीकार्य हुने थिएन होला। त्यसैले विवाहपछि पनि छोरी जन्मिएको चार महिनामा मात्र घरमा थाहा भयो। तर, अहिले सब ठिकठाक छ। 
 
परिवार खुसी छ। हाम्रो विवाह भएको ६ वर्ष बित्यो। दुई छोरी हुर्कंदैछन्। म धेरैजसो घरबाहिरको काममै व्यस्त हुन्छु। 
 
परिवारलाई चाहेजति धेरै समय दिन सकिरहेको छैन। त्यसैले प्रेम र हनिमुनको समय मलाई सम्झना आइरहन्छ। अहिलेको व्यस्त समयमा ती पल सम्झँदा पनि आनन्द आउँछ।