हेर्दाहेर्दै मिडिया मालिक भए गुण्डा नाइके गणेश लामा

काठमाण्डु, १३ चैत– चर्चित गुण्डा नाइके तथा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामाले मिडियामा लगानी गरेका छन् । अपराधिक पृष्ठभूमिका लामाले हालै राजधानीबाट प्रकाशित हुँदै आएको जनसबाल दैनिक किनेका हुन् । स्रोतका अुनसार राजनीतिको आडमा गुण्डागर्दी गर्दा पनि सञ्चार माध्यमबाट आक्रमण नरोकिएपछि लामा आफैं मिडिया चलाउने मनस्थितिमा पुगेका हुन् । यसअघि उक्त पत्रिकाको स्वामित्व रामजी बगाले र अर्का एकजनाको नाममा थियो । लामाविरुद्ध गुण्डागर्दी माध्यमबाट अकुत सम्पत्ति आर्जन गरेको मुद्धा विशेष अदालतमा विचाराधीन छ । काभ्रे निवासी लामा गत संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका तर्फबाट काभ्रे–२ मा उम्मेदवारी दिएको भोलिपल्टै २०७० असोज १८ मा तीन करोड मूल्य बराबर धरौटी बुझाएर जेलमुक्त भएका थिए । सम्पत्तिशुद्धीकरण विभागले लामाले अवैधरूपमा २७ करोड एक लाख ६१ हजार ५८ रुपैयाँ बराबरको सम्पति आर्जन गरेको आरोपमा उनीविरुद्ध ५ जेठ २०७० मा विशेषमा मुद्दा दायर गरेको थियो । लामा अदालतले तोकेको तीन करोड धरौटी दिन नसकेपछि ३ साउनमा जेल गएका थिए ।