बेपत्ता ट्राफिक प्रहरी मृत फेला

म्याग्दी, फाल्गुन २७ - बाग्लुङ्ग अधिकारीचौर घर भै जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा कार्यरत जवान युवराज पौडेल कालीगण्डकी नदी किनारामा मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरीका अनुसार गत फागुन २० गतेराति २ बजे (२१ गते विहान) कार्यालयबाटै बेपत्ता भएका थिए । पौडेलको शव बुधवार मध्यान्न १२ बजे पर्वत जिल्लाको नाङ्लीवाङ्ग गाविसको खनियाँघाट नजिक कालीगण्डकी नदीमा फेला परेको हो । आत्महत्याको आशंकामा नदी किनारामा खोजी गर्ने क्रममा परिवारले शव फेला पारेको हो ।
'वेपत्ता पौडेलको शव फेला परेको छ । आत्महत्या/हत्या विषयमा आवश्यक अनुसन्धान शुरु गरेका छौं' अनुसन्धान अधिकृत समेत रहेका प्रहरी निरिक्षक विमलकुमार उपध्यायले भने, 'ट्राफिक प्रहरी कार्यालयबाट उनी मध्यराति रहस्यमय तरिकाले हिडेका रहेछन् ।'
जिल्ला ट्राफिक प्रमुख विकास लम्सालका अनुसार राती १२ बजे मदिराले अचेत अवस्थामा ब्यारेक छिरेका पौडेलले सहकर्मीको विस्तारामा पिसाव फेरेपछि सहकर्मीले स्वास्थ्य परिक्षण गराउन लान खोज्दा कार्यालयबाट भागेर बसपार्क तर्फ दौडेका थिए । समाउने प्रयास असफल भएपछि २१ विहान मात्र खोजी शुरु गरिएको थियो ।
 प्रकाशित मिति: २०७१ फाल्गुन २७ ०५:४४