पूजा साहका बलात्कारीलाई ३५ वर्ष जेल

फोटो :अन्‍नपूर्ण फाइल तस्बिर
वीरगन्ज : कलैया नगरपालिका ८ की सात वर्षीया बालिका पूजा साहको बलात्कार र हत्यामा संलग्न युवक कन्हैया गुप्तालाई बारा जिल्ला अदालतले सर्वस्वसहित ३५ वर्ष जेल सजाय तोकेको छ। अदालतले पीडित परिवारलाई गुप्ताको चलअचल सम्पत्तिबाट दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ।
 
अदालतले मंगलबार कलैया ४ का २८ वर्षीय गुप्तालाई सर्वस्वसहित ३५ वर्ष कैद फैसला गरेको हो। न्यायाधीश लिप्तबहादुर थापाको इजलासले पूजाको बलात्कार र हत्यामा संलग्न रहेको ठहर गर्दै गुप्तालाई सजाय दिएको हो। 
कर्तव्य ज्यान मुद्दामा  र जबरजस्ती करणी मुद्दामा १५ वर्ष गरी ३५ वर्ष कैदको सजाय तोकिएको अदालतका स्रेस्तेदार रोशन भट्टराईले जानकारी दिए।
 
जबरजस्ती करणी र कर्तव्य ज्यानको अपराध अभियुक्त स्वंयले स्वीकारेकाले मंगलबार अदालतमा पेस भएकै दिन मुद्दाको फैसला गरिएको भट्टराईले बताए। गुप्तालाई वीरगन्ज कारागार चलान गरिएको बाराका प्रहरी निरीक्षक कृष्णदेव चौधरीले बताए।
 
पूजाको बलात्कार र हत्यामा संलग्न गुप्तालाई प्रहरीले घटना भएको भोलिपल्ट फागुन १० गते पक्राउ गरेको थियो। पक्राउ परेकै दिन गुप्ताले रक्सी र गाँजाको नशामा आफूले पूजालाई बलात्कार गरेको स्वीकारेका थिए।
 
अदालतको फैसला स्वागतयोग्य रहेको बेटी बचाउ संघर्ष समितिका संयोजक एवं पूर्वसभासद् प्रमोद गुप्ताले बताए। 'विद्यमान कानुनअनुसार हदैसम्मको सजाय तोकेर अदालतले स्वागतयोग्य काम गरेको छ', उनले भने, 'तर बलात्कारीलाई सजाय दिने कानुनमा संशोधन आवश्यक छ। यसका लागि हामीले निरन्तर संघर्ष गरिरहनेछौं।'
 
पूजाका बुबा बद्रीनारायण साहले पनि छोरीको बलात्कार गरी हत्या गर्ने गुप्तालाई जन्मकैद सजाय भएकोमा खुसी व्यक्त गरे। 'सर्वस्वसहित जन्मकैद भने पनि मैले फाँसीसरह नै ठानेको छु', उनले अन्नपूर्णसँग भने, 'अब कानुन बनाउँदा बलात्कारीलाई मृत्युदण्डकै सजायको व्यवस्था गरिनुपर्छ।'
 
अखिल नेपाल महिला संघ बाराकी नेत्री अनिता साहले भने अदालतको फैसला सन्तोजनक नरहेको बताइन्। 'त्यस्ता पापीलाई त फाँसी नै हुनुपर्छ', उनले भनिन्, 'एकजना बलात्कारीले फाँसी पायो भने त्यसपछि कसैले यस्तो कर्तुत गर्ने दुस्साहस गर्दैन।'
 
गत फागुन ८ गते साँझ कलैयाको दहीबजार नजिकबाट बेपत्ता पूजा फागुन ९ गते बिहान कलैया ६ स्थित श्री तीन चन्द्र उच्चमाविको दक्षिणपट्टि बलात्कृत अवस्थामा फेला परेकी थिइन्। वीरगन्जमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं लगिएको थियो। 
 
कान्ति बाल अस्पतालमा उपचारका क्रममा फागुन १४ गते उनको निधन भएको थियो। पूजाको शव फागुन २६ गते मंगलबार गृहनगर कलैया ल्याइएको थियो।
 
कलैयामा शव ल्याएकै दिनदेखि बेटी बचाउ संघर्ष समितिले कलैयाको भरतचोकमा शव राखेर पाँच दिनसम्म धर्ना दिनुका साथै प्रदर्शन गरेको थियो। 
 
संघर्ष समितिको आह्वानमा कलैया बजार बुधबारदेखि शनिबारसम्म चार दिन बन्द भएको थियो। संघर्ष समिति र स्थानीय प्रशासनबीच सातबुँदे सहमति भएपछि गत शनिबार पूजाको अन्त्येष्टि गरिएको थियो।