सिन्धुपाल्चोकको दर्द : आमा कुवेतमा बेहोस, बुबा मलेसियामा !

१६ वैशाख, मलेसिया । चार वर्ष अगाडि १० महिनाको दूधे वालक संगीत तामाङलाई पतिको जिम्मा लगाएर बासखर्क-७, सिन्धुपाल्चोककी सुनमाया तामाङ वैदेशिक रोजगारीका लागि कुवेत पुगिन् ।
कुवेतमा काम र कमाइ दुबै राम्रै थियो । पत्नीले कमाउने, पतिले घरमा बसेर छोराको स्याहार गर्ने । निकै सुखी र उल्लासमा बितिरहेको थियो उनीहरुको जीवन ।


छोरालाई ताते ताते गर्दै गाउँघर डुलाउँदा गाउँमा उनीहरुको चर्चा निकै चल्थ्यो । गाउँलेहरु भन्थे, जोडी होस् त यस्तो । निकै माया र ममता दिएर हुर्काएका थिए उनले छोरालाई ।

तर, छोरो तीन वर्षको हुँदा बाबु नाम्खा दोर्जे तामाङ पनि विदेश आउने सुर कसे । पत्नीलाई मात्रै कति दुख दिनु ? आफुले पनि केही वर्ष कमाउने हो भने परिवार अझै सुखसँग बित्ने ठहर गरे उनले । र, छोरालाई नेपालमै छाडेर मलेसियामा सेक्युरिटी गार्डका म्यानपावरमा मानिसलाई पासपोर्ट बुझाए ।

पासपोर्ट बुझाउना साथ श्रीमतीलाई कुवेतमा टेलिफोन गरेर उनले भने-बाबु पनि अब ठूलो हुँदैछ, भाइ-बुहारीले पनि हामीले हुर्काउँछौं तपाईहरुको राम्रो हुन्छ भने जानुस् भनेका छन्, के गरौं ?
श्रीमतीले पनि हुन्छ भन्ने जवाफ दिएपछि दुई वर्ष अगाडि उनी तीन वर्षको छोरालाई भाइबुहारीको जिम्मा लगाएर मलेसिया आए ।

नेपालमा भनेजस्तो काम उनले मलेसियामा पाउन सकेनन् । निकै हण्डर र ठक्कर खाँदै जेनतेन दुई वर्ष बिताए । कुवेतवाट श्रीमती र मलेसियावाट उनी एकैपटक नेपाल फर्कने चाँजो पाँचो मिलाउँदै गर्दा बैशाख १२ गते नेपालमा भूकम्प गयो ।

त्यो दिन उनी मलेसियाको पेनाङमा सेक्युरिटिको ड्उटी गरिरहेका थिए । मलेसियामा रहेका आफन्तले फोन गरेर भने-‘दाइ नेपालमा फोन गर्नुभयो ? उनले जवाफ दिए, बिहानमात्रै छोरासँग कुरा गरेको, अहिले त गरेको छैन ।’ आफन्तले भने-एक पटक फोन गर्नुस् त । उनले थप सोध्न नपाउँदै आफन्तले फोन काटे ।
बिहान छोराले भनेको थियो, बुबा तपाई कहिले आउनुहुन्छ ? साइकलले मेरो जुत्ता फाट्यो जुत्ता पनि ल्याइदिनु है । अनि वावा, मेरो बर्थ डे कहिले मनाउने ?’

घरमा फोन गरे, फोन लागेन । छिमेकीलाई फोन गरेपछि थाहा भयो । गाउँमा भुइँचालो गएको रहेछ । उनले सोधे-संगीतलाई कस्तो छ ? उताबाट जवाफ आयो-संसारै गैसक्यो, तपाई छोराको कुरा गर्नुहुन्छ । वुहारी र संगीत दुबैलाई घरले पुर्‍यो, हामी बल्ल तल्ल बाँचेका छौं । उनको होस हवास उड्यो । वाक्य रोकियो । फोन काटियो । ठाउँको ठाउँ बेहोस भए ।

उता कुवेतमा रहेकी संगीतकी आमाको पनि हाल उस्तै रह्यो । खबर सुन्नासाथ उनी ढलिन् । कम्पनी मालिकले तुरुन्तै अस्पताल पुर्‍याए । करीव १२ घण्टापछि मात्रै उनको होस खुल्यो ।
श्रीमतीको अवस्थाका बारेमा उनले अनलाइनखबरसँग भने-अहिले पनि छिनछिनमा बेहोस हुन्छिन् रे । कम्पनी मालिकले नेपाल पठाउँदैछ ।

शनिवारको दिन बिहान छोरासँग कुराकानी हुँदा छोराले भनेको थियो । बुबा तपाई कहिले आउनुहुन्छ ? साइकलले मेरो जुत्ता फाट्यो जुत्ता पनि ल्याइदिनु है । अनि वावा, मेरो बर्थ डे कहिले मनाउने ?’
‘संगीतको बर्थ डे माघ ३ गते पथ्र्यो । तर, पनि गाउँमा कसैले मनाएको देख्यो होला, त्यही भएर सम्भिmएको होला’- भक्कानिँदै नाम्खाले भने ।

अब मोवाइलको मेमोरी कार्डमा मात्रै जीवित रहेका छन् संगीत । सानैदेखि आफैंले हुर्काएको, निकै माया लाग्छ । मोवाइलमा रहेको छोराको फोटो देखाउँदै नाम्खाले भने- ‘यो एक वर्ष हुँदाको, यो साढे चार वर्ष हुँदाको फोटो ।’
भूकम्पले सिन्धुपाल्चोकको बासखर्कमा धेरैको ज्यान गएको उनले सुनाए । छोराको शव मंगलवार निकाले रे, बुहारीको आज मात्रै ।

उनी नेपाल फर्कने चाँजोपाँचो मिलाउँदै छन् । उता कुवेतमा बाट आमा पनि नेपाल फर्कँदैछिन् । ‘उनी र म काठमाडौंं भेट भएर संगै सिन्धुपाल्चोक जान्छौं । एक्ला एक्लै जान त कसरी सकिएला र मुटुको टुक्रा नै छैन ।’ मलेसियामा अनलाइनखबरसँग कुराकानी गरिरहँदा उनी धेरैचोटि भक्कानिए ।