यसरी हुन्छ लामो समयसम्म लिङ्ग उत्तेजित

हस्तमैथुन गर्दा राम्रोसँग उत्तेजित हुन्छ भने शारीरिक पक्ष ठिकै भएको मान्नुपर्छ। कहिलेकाहीं मात्र यस्तो समस्या भए खासै चिन्ता लिनुपर्दैन। तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। सामाजिक मूल्य-मान्यताबाहिर यौनसम्बन्ध राख्दा वा प्रयास गर्दा पनि एक किसिमको तनाव हुन्छ। समाजबाट लुक्नुपर्ने मात्र होइन, मनमा पनि द्वन्द्वात्मक स्थिति उत्पन्न हुन सक्छ। विश्वासिलो व्यक्तिबाहेकको सन्दर्भमा रोग सर्ने चिन्ता पनि मनमा हुनसक्छ। त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भएसमस्या अझ चर्को हुनसक्छ। यस्तो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाबले हुने चिन्तालाई हामी (यौनकार्य सम्पादनको चिन्ता) भन्छौं। 

किशोरावस्था तथा युवा अवस्थामा लिङ्गको उत्तेजना सजिलै भए पनि अनपेक्षित रूपमा यसरी लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन्छ। निरन्तर प्रयासपछि पनि सफलता हासिल गर्न नसक्दा समस्या अझ चर्को हुनसक्छ। सर्वप्रथम त त्यसको कारण नै पत्ता लगाउनुपर्ने हुन्छ, किनभने त्यसको उपचार वा समाधान त्यसैमा भर पर्छ। कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ। कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमतामै ह्रास आउन थाल्छ। कति त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधंै चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन। त्यसैले मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीं औषधीसमेत सेवन गर्नुपर्ने हुनसक्छ। कतिपयले यसमा हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन्। 

यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ। यसमा आफ्नो यौन साथीको सहयोग तथा समझदारी उत्तिकै महत्त्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ। यौनसाथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक पर्न सक्छ। 

समाचारसंग सम्बिन्धीत भिडियोका लागि तलको बक्समा क्लिक गर्नुहुन अनुरोध गर्दछौ ।