छोरालाई भूकम्पले लगेपछि विदेशमा मन थामिएन
काठमाडौं, वैशाख १६ – दुई महिनाको छोरो गुमेको, श्रीमति घाइते भएको र घरगोठ भूकम्पले ढालेको खबर पुगेपछि विदेशमा महेश्वरको मन थामिएन । त्यसैले नुवाकोटको थान्सिङ–७ का महेश्वर पाठक भुईचालोले २ महिनाको छोरो गुमेपछि विदेश पुगेको १२ दिनमै घर फर्कनु भएको छ ।
रोजगारीका लागि वैशाख ३ गते ओमन गएका पाठक ८ दिन काम गरेर घर फर्कनुभयो । भूकम्प आएपछि बच्चा बोकेर भाग्दाभाग्दै बच्चालाई भत्किएको घरले च्याप्यो । घरले च्यापेर श्रीमती घाइते भइन् ।
बुढा बाआमा साना भाइबहिनी र श्रीमतिको बिजोग सम्झिएर घर आउन खोज्दा कम्पनीले छुट्टि र टिकट नदिएपछि ओमनमा रहेका नेपालीको सहयोगमा घर फर्किएको पाठकले बताउनुभयो ।
आँखाभरी आँसुपार्दै उहाँले भन्नुभयो ‘परिवारको खुशीका लागि म परदेशिएको हुँ परिवारको बिचल्नी भएपछि म कसरी बसौं । छोरो रहेन, श्रीमती छट्पाटाई रहेकी छन्, बुढा बाआमाको पनि बिजोग छ ।’
सामान प्याकिङको कामका लागि पाठक १ लाख ५ हजार ऋण काडेर काठमाडौंको ओभरसिज मेनपावर कम्पनीबाट विदेश जानु भएको थियो ।
ओमनको एसएस कम्पनीमा प्याकिङको काम नपाएपछि उहाँले ८ दिन स्टोरमा काम गर्नुभयो । आपत आइलाग्दा घर फर्किने खर्च समेत नभएका पाठकलाई त्यहाँ रहेका नेपालीले रकम संकलन गरेर टिकट मिलाई दिए ।
डियुटीमा रहेका बेला घरबाट बहिनीले फोन गर्दा त पाठकको मन खुशी थियो, तर बहिनीले सुनाएको खबर दुःख बोकर कानमा गुञ्जिन थाल्यो । घरबाट बाले जेहुनु भैगयो ऋण तिरेर मात्रै फर्कनु भन्दापनि मन थामिएन ।
कुशादेवी–२ काभ्रेका उमेश सापकोटा पनि ४ महिना अघिमात्रै कतार पुग्नु भएको थियो । भूकम्पले घरगोठ भत्किएको र बस्तुभाउ मरेको खबर सुनेपछि उहाँको पनि मन परदेशमा अडिएन ।
दुईवटी बालख छोरी र श्रीमती घर भत्किएपछि बारीमा बसिरहेको खबर पुगेपछि भक्कानिएको मन थाम्न सक्नु भएन । दुई वर्ष कतारमा बसेर फर्किएपछि यतै व्यापार गरेर बस्ने उहाँको योजना पनि भूकम्पले भत्काइदिएको छ ।
उमेश र महेश्वर जस्ता काम गर्न विदेश गएका धेरै नेपाली छँदाखाँदाको काम छाडेर नेपाल फर्किन थालेका छन् । शनिबार र आइतबार गएको भूकम्पले परिवार बिचल्लि पारेपछि विमानस्थलमा घर फर्कने परदेशीको लामै लर्को लागेको देखिन्छ ।
वैदेशिक रोजगारको लागि विभिन्न देशमा पुगेका उनीहरु आफन्त गुमाएको र घरपरिवार बिचल्लिमा परेको खबर पुगेपछि घर फर्किएका हुन् । भूकम्पले परदेशमा पुगेका कोहीले सन्तान गुमाएका छन् भने कतिको घरबार ध्वस्त भएको छ । घरपरिवार विचल्लिमा परेपछि काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशबाट फर्कनेको लाम ठूलो छ । आफन्त गुमेको खबर सुनेपछि उनीहरु रोजगारी छाडेर धाईफाल हानेका हुन् । भूकम्प त नेपालमा गयो, तर भूकम्पले नेपालमा ल्याएको चोटले अहिले संसारभर छरिएका सबै नेपालीको मनलाई बिचलित पारेको छ ।
सोर्स-उज्यालो अनलाईन


