भुइँचालोले पुरिएकी सुनकुमारीले 'छोरी जन्माएँ जसको नाम 'भुइँचम्पा' राखिन
२०७२ बैशाख १६ बुधवार गोरखा : सुत्केरी व्याथाले घरमै थलिएकी सौरपानी–९ शिम्भुकी सुनकुमारी गुरुङलाई शनिबारको भुइँचालोमा ढलेको घरले पुर्यो । एकातिर सुत्केरी व्यथा, अर्कोतिर घरको बडेमानको गारोले पुरिएको अत्यास । ‘म त बाँच्दिन भनेको थिएँ, दैवले बचायो’ गोरखा अस्पतालको शैयामा भेटिएकी उनले रुँदै भनिन् ‘दिनभर ढुंगामाटो मुनि थिएँ । बेलुकी ६ बजेतिर गाउँलेले निकालेपछि '’ छोरी जन्माएपछि माछामासु त परको कुरा उनले गाउँबाट एकघण्टा परको तोरोङ जंगलको गुफामा बसेर सुत्केरी उतारिन् । ‘न खानेकुरा खान पाउनु, न तातो सेक्न पाउनु, न तेल लगाउन पाउनु’ उनले गुनासो गरिन् ‘पानीमात्रै खाएर चार दिन कटाएँ ।’ उनलाई बल्लतल्ल बुधबार हेलिकोप्टरले उद्धार गरेर गोरखा अस्पताल ल्याइपुर्याएको छ । अस्पताल आइपुगे पनि उनको समस्या अझै सल्टेको छैन । उनकी नवजात छोरीलाई जन्डिसले पक्रेको छ । अहिले उनीहरु गोरखा अस्पतालमा उपचाररत छन् । ‘छोरीलाई जन्डिस भएर यस्तो हालत छ । यो अस्पतालमा सक्दिन भन्छन्’, उनले भनिन्, ‘भरतपुर गएर उपचार गराउने खर्च छैन्, यस्तो दुःख कसैले भोग्नु नपरोस् ।’ सुत्केरी सुनकुमारीको दुवै खुट्टा च्यापिएर घाइते छिन् । आफ्नो र बच्चाको पनि उपचार गर्नुपरेपछि सुनकुमारी बिचल्लीमा छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला