खबरदार, यसकारण हानिकारक हुँदैछ कुखुराको मासु

सहरी मध्यमवर्गका मानिसहरुका लागि बोइलर कुखुराको मासु निकै लोकपि्रय मासुको परिकार बन्दै आएको छ । रेड मिट खान नचाहनेहरुले समेत माछा र कुखुराको मासुलाई विकल्पका रुपमा ग्रहण गर्दै आइरहेका छन् । तर व्यवसायिक रुपमा जथाभावी रासायनिक पदार्थहरुको प्रयोग गरेर उत्पादन गर्ने कुखुराको मासु मानव स्वास्थ्यका लागि हानिकारक रहेको अनुसन्धानले देखाएको छ ।
अमेरिकामा गरिएको अनुसन्धान अनुसार कुखुराको मासुले मानिसलाई एन्टीबायोटिक प्रतिरोधी बनाउने खतरा हुन्छ, अर्थात् धेरै कुखुराको मासु खाने मानिसलाई रोग लागेको बेला खाइने एन्टीबायोटिक औषधिले काम गर्न छाड्छ ।
chiken-meetव्यवसायिक कुखुरा पालकहरुले कुखुरालाई रोगबाट बचाउन कडा खाले एन्टिबायोटिक औषधिहरु दिने र छिटो वृद्धि गराउन भन्दै विभिन्न खाले हर्मोन र रसायनयुक्त दानाहरु समेत दिने कारणले गर्दा त्यस्तो किसिमले हुर्काइएका कुखुराको मासु खानु स्वास्थ्यका लागि हानिकारक हुने वैज्ञानिकहरुको भनाइ छ ।
प्रोसिडिंग अफ नेसनल एकेडेमी अफ साइन्सेस जर्नलमा छापिएको खबर अनुसार भारतमा सन् २०३० सम्ममा मानिसहरुले हरेक वर्ष कडा एन्टीबायोटिक औषधि खुवाइएका ४ हजार ७ सय ४३ टन कुखुराको मासु खानेछन् । कुखुराको बढी मासु खपत गर्नेमा चीन एक नम्बरमा हुनेछ ।
कुखुरालाई रोग नलागोस् र छिटो बढोस् भन्नका लागि अन्य जनावर तथा मानिसका लागि उत्पादन गरिएका एन्टीबायोटिक्स औषधि समेत खुवाइने गरिएको हुँदा त्यसले मानिसमा पार्ने असर अझै बढ्न गएको हो । यसरी हुर्काइएका कुखुराको मासु खाँदा त्यस्तो औषधिको अंश मानिसको सरीरमा जान्छ ।
नियमित रुपमा एन्टीबायोटिक औषधियुक्त कुखुराको मासु सेवन गर्नाले सरीरले विस्तारै एन्टीबायोटिक्स विरुद्धक प्रतिरोधक क्षमता विकाश गर्दछ । विभिन्न रोगको उपचारमा मानिसले प्रयोग गर्ने एन्टीबायोटिक औषधि खुवाइएका कुखुराको मासु खानाले मानिसको सरीर त्यस एन्टीबायोटिक प्रतिरोधी बन्न जाने र त्यसपछि रोग लागेको बेला उक्त एन्टीबायोटिक औषधि खाँदा त्यसले काम नगर्ने समस्या पैदा हुने शोधकर्ताहरु बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार खानेकुरामा भएको मिसाबट लगायतका कारणले मानिसको सरीरमा विकशित भएको एन्टीबायोटिक्स प्रतिरोधी क्षमताका कारण रोगको उपचार जटिल बन्दै गएको र त्यसले वर्षेनी लाखौँ मानिसले ज्यान गुमाउनु परेको छ ।
स्मरण रहोस् दक्षिण कोरिया तथा युरोपेली युनियन सम्बद्ध देशमा यस्तो प्रकारले एन्टीबायोटिक औषधि खुवाएर हुर्काइका कुखुराको बिक्रि तथा सेवनमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।