पेटबाट दिसा-पिसाव गर्दै आएका अनिल श्रेष्ठको उपचार हुने

सुनसरी, वैशाख २ ।

जन्मेदेखि नै पेटबाट दिसा–पिसाव गर्दै आएका सुनसरी धरानका ५ वर्षीय बालक अनिल श्रेष्ठको उपचार हुने भएको छ ।आर्थिक अभावका कारण अनिलको उपचार हुन नसकेको समचार इमेज च्यानलबाट प्रशारण भएपछि उनको उपचारका लागि सहयोग जुट्न थालेको हो ।हङकङ बस्ने किरण राई, रिस्ता गुरुङ, धरानकी करुणा राई र काठमाडौंकी जुनु पुनको पहलमा २ लाख रुपैयाँ संकलन भएसँगै अनिललाई उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएको छ ।अनिलले पेटमा रहेको प्वालसँगैको ट्युमरबाट दिसा–पिसाव गर्ने गरेका छन् । धरानकी करुणा राईले समाचार हेरेपछि अनिलका लागि सहयोग संकलन अभियान थालेको जानकारी दिइन् ।उनले अनिलको उपचारका लागि हङकङ, बेलायत, अष्ट्रेलिया, जापान, धरान, काठमाडौं, भोजपुरलगायतका स्थानमा आर्थिक सहयोग संकलन भैरहेको पनि बताइन् ।