विदेश गएको २ महिनामै मृत्यु, एक महिनापछि शव घर

१ वैशाख, गौशाला । महोत्तरी जिल्लाको एक युवक विदेशिएको दुई महिनामै मृत्यु भएको छ भने मृत्यु भएको एक महिनापछि उनको शव गाउँमा आएको छ ।
जिल्लाको कोल्हुवा बगेया गाविस–८ बस्ने रामकिशोर मण्डलका छोरा २२ वर्षीय राकेश मण्डल मलेसिया गएको दुई महिनामै उनको मृत्यु भएको थियो । मृत्यु भएको एक महिनापछि मंगलबार बिहान उनको शव घरमा आएको छ ।
विसं २०७१ माघ १ गतेका दिन काठमाडौँको गौशाला अवस्थित मिथिला मेनपावरमार्फत मण्डल मलेसिया गएका थिए । चैत १ गते उनको मृत्यु भएको थियो ।
मेनपावर सञ्चालक महोत्तरीकै परिकौली फुल्हट्टा गाविसका नवल सिंह र पवन सिंहका एजेन्ट कोल्हुवा बगेया– ८ बस्ने मुकेश पाण्डेले एक लाख ७५ हजार रूपैयाँ लिएर राम्रो, सजिलो र धेरै पैसा कमाउने काम पाउने भन्दै मण्डललाई मलेसिया पठाएका थिए ।
तर मलेसियामा पुग्ने बित्तिकै युवक मण्डललाई घनघोर जङ्गलमा लगिएको, कुनै काम नदिएको, खान बस्न नदिएको, पानीको सुविधा नभएको र मोबाइलमा समेत घर परिवारसँग कुरा गर्न नदिएको उनकी १९ वर्षीया पत्नी कामनी देवीले भक्कानिँदै सुनाएकी छिन् ।
करिब एक महिनापछि छिमेकी गाविस बलबाका एक साथीले जङ्गलमा हिँडडुल गरेको र मागी खाने गरेको देखेर युवक मण्डलको घरमा लुकेर फोन गराइदिएपछि युवक मण्डलकी सासू जिल्लाको बनौली गाउँ बस्ने जीवछी देवीले गाउँमा ५० हजार ऋण लिइन् र सो पैसा पुनः एजेन्टलाई दिएर मेरा ज्वाइँलाई मगाइदिनुस् भनेकी थिइन् ।
तर एजेन्ट पाण्डेले त्यो ५० हजार पनि खाइदिए । तर उनका ज्वाइँलाई ल्याइदिएनन् । आखिर चैत ३ गते युवक मण्डलको ससुराली बनौलीमा उनी मरेको खबर आयो ।
तीन वर्षअघि मात्रै छोरीको विवाह गरेकी सासूले जिवछीले ज्वाइँ, छोरी र एक वर्षीय नातिको सुन्दर भविष्यका लागि ज्वाइँ राकेशलाई ऋण गरेर विदेश पठाएकी थिइन् । तर, उनको सपना बीचबाटोमै लुटिएको सासू जीवछीले रुँदै सुनाएकी छिन् ।
त्यस्तै, बुढा बाबुको सहारा रहेका छोरा राकेशको मृत्युपछि मण्डल परिवार ध्वस्त भएझैं भएको छ । युवक मण्डल विदेशिएको दुई महिनामै उनको शव बाकसमा बन्द भएर आएपछि शव हेर्न गाउँलेको भीड लागेको छ । सबैले पीडित परिवारको अवस्था देखेर आँसु झारेका छन् ।
यता विदेश पठाउने एजेन्ट मुकेश पाण्डे गाउँ छाडी भागेका छन् । मेनपावर सञ्चालन गर्दै आएका नवल सिंह र पवन सिंह पनि सम्पर्कमा आउन नसकेको पीडित परिवारले बताएका छन् । रासस