भग्नावशेषमा मानिस खोज्दै चिनियाँ रोबोट

फोटो :फाइल फोटो
काठमाडौँ  : विनाशकारी भूकम्पमा परेकाको उद्धार गर्न छिमेकी र अन्य मुलुकबाट आएकामध्ये चीनको ‘सर्च एन्ड रेस्क्यु टिम’ को उपकरण अत्याधुनिक र उद्धार तुलनात्मकरुपमा सावधानीपूर्ण देखिएको छ ।

चीन सरकारबाट आएको सो टोलीको मुख्य जिम्मेवारी नेपाली सेनाको उपत्यका पृतनासँगको समन्वय हो । टोलीले आज बालाजु, गोँगबु, डल्लु, काठमाडौं स्क्वायर र कपनमा उद्धार गरेको थियो ।

जटिल ध्वस्त संरचनामाभित्र उद्धार टोली प्रवेश गर्नु आफैँमा जोखिम र पीडादायी हुन्छ । कतिपय भत्किएका संरचना र पुरिएका ठाउँमा डोजर र स्काभेटरले खन्दै गर्दा घाइते बनेकाहरु थप थिचिएर मारिएका घटना पनि देखिएका थिए ।

चिनियाँ टोलीले चाहिँ मानवीयभन्दा उपकरणको सहायताबाट उद्धार गरेको थियो । रोबोट क्यामेरालाई प्राविधिक निर्देशन दिएपछि पुरिएका ठाउँमा यसले आफ्नो सूचना शक्तिलाई केन्द्रित गर्छ ।

त्यसस्थलबाट प्राविधिज्ञको क्यामेरा फर्केर आउँछ, त्यहाँ रहेका सूचना र दृष्यका आधारमा टोलीले थप काम गर्छ । जीवितै रहेका वा मारिएका मानिस वा महत्वपूर्ण वस्तुका बारेमा प्राप्त सूचनाका आधारमा टोलीले त्यस स्थानमा ग्यास मेसिनले आवाजसमेत ननिकाली प्वाल पार्छ ।

प्वाल बनाइसकेपछि त्यहाँभित्र कोही जीवित छन् भने अर्को चरणमा सोही क्यामेराबाट पानी, बिस्कुटजस्ता खाद्य सामग्री पठाइन्छ । यही क्रममा चिनियाँ तालिमप्राप्त कुकुरले पनि काम गरिरहेको हुन्छ ।

कुकुर र क्यामराबाट पाएका सूचना र स्थितिको स्पष्टतापछि मात्रै एक, दुई जना गरेर प्राविधिक टोली भग्नावशेमा जाने गर्दा उद्धारकर्ताको पनि कम जोखिम हुने र जीवितै घाइतेलाई पनि थप असर नपर्ने सम्भावना रहने एक चिनियाँ प्राविधिज्ञले बताए ।

नेपाली सेनासँग मिलेर उद्धारमा खटिएको चिनियाँ टोली
सुन्धरास्थित क्षतिग्रस्त धरहरास्थलमा पनि मङ्गलबार चिनियाँ टोलीले अत्याधुनिक उपकरणसहित उद्धार गरेको थियो । यसअघि नेपाली सेनाको टोलीले त्यहाँका अधिकांश मृतक र घाइतेको उद्धार गरिसकेको भए पनि थप केही मानिस झिक्न बाँकी रहेको अनुमानका आधारमा चिनियाँ टोली खटिएको थियो ।

चिनियाँ टोलीले मंगलबार रातिसम्म पनि काम गरिरहेको थियो । चिनियाँ टोलीको अत्याधुनिक उद्धार हेर्ने र त्यसको दृष्य खिच्न सर्वसाधारणको त्यसक्षेत्र वरपर भीड लागेको थियो । रासस