१ सय २० घन्टापछि पुनर्जीवन पाएका पेम्बाको बयान घ्यु र भुई पुछेको कपडाको पानीले बचायो

काठमाडौ, वैशाख १७ - गोंगबुको हिल्टन गेष्टहाउसमा म भाँडा धुने काम गर्थे । त्यो दिन बिहानको भाडा धोइसकेर म माथि पैसा लिने काउन्टरमा बसिरहेको थिएँ । अरु दाईहरु पनि त्यहीं थिए । अचानक टेबल हल्लिन थाल्यो । दाईहरु भुईचालो भन्दै भाग्नु भयो । म पनि उहाँहरुसँगै भागे ।
भ¥याङ ओर्लदै गर्दा म गुल्टिदै तल अईपुगे । कहाँ पुगे, केही थाहा छैन । ब्युझिँदा अँध्यारो ठाउँमा थिएँ । यता उता गरेर निस्किने कोशिस गरें । तर सकिनँ । म भान्सा कोठामा पुगेको रहेछु । माथिको छत भत्किएर सानो ओडार जस्तो भएको थियो । म त्यसै भित्र थिएँ । कोठामा हावा आउथ्यो ।
हावा मात्रै खाएर भएन, भोक र तिर्खा लाग्यो । पानी खोजे भेटिनँ ।
एउटा प्लाष्टिक भित्र भिजेको कपडा भेटाएँ । भान्सामा बट्टामा घिउ रहेछ । त्यही घ्यु र भिजेको कपडाबाट आएको पानी पिएर बाँचे । त्यहाँ भएको बेला बाँचेको जस्तो पनि लाग्थ्यो, मरे जस्तो पनि लाग्थ्यो । बेला बेला बेहोस भएजस्तो हुन्थ्यो । होशमा भएको बेला चिच्याएर मदत माग्थें । कसैले सुनेन । मान्छे बोलेको, हिँडेको सुनिन्छ कि भनेर आवाज सुन्न खोज्थें ।
आज बिहान अचानक कोठामा उज्यालो पस्यो । यता उता सल्बलाएँ । मलाई बचाउन थुप्रै मान्छे आएका रहेछन् । एउटा प्रहरी दाईले मलाई बोकेर बाहिर निकाले । अब त बाँच्छु जस्तो लागेको छ ।
मेरो घर नुवाकोट हो । तीन बर्ष अघि मेरी आमा कुबेत जाने बेलामा म काठमाडौं आएको थिएँ । आमा कुबेतबाट फर्किएकी छैनन् । बुवाले अर्की आमा ल्याएका छन् अरे । दिदीहरु स्वयम्भुमा बस्छन् । म त्यो गेष्टहाउसमा १ महिना अघि आएको थिएँ । त्यसअघि म टेम्पोमा खलासीको काम गर्थे । स्वयम्भुदेखि रत्नपार्कसम्मको माइक्रोमा काम गर्ने मलाई टेम्पो चालक दाईले नै त्यो गेष्ट हाउसमा लगिदिएका थिए । टेम्पोमै काम गरेको भए यस्तो हुँदैन थियो कि जस्तो लागेको छ ।