सासुससुरा मिलेर गर्भवती बुहारीको हत्या

चरीकोट : छोराले प्रेमविवाह गरेर भित्राएकी बुहारीलार्इ सासुससुरा मिलेर हत्या गरेको खुलासा भएको छ । बुहारीको हत्या गर्न छिमेकी एक युवालाई २० हजार रुपैयाँ दिने आश्वासन दिएर साथी लगेको पनि  प्रहरी अनुसन्धानबाट खुलेको छ । 
 
दस दिन अघि दोलखाको भुषाफेदा गाविस-६ को गोल्फु पाखाजंगलमा १७ वर्षीया आठ महिने गर्भवती मृतअवस्थामा फेला परेकी थिइन् । सासु बुहारीको दैनिक झगडा हुने र छोराको प्रेम बिवाहपछि बुहारीका माइतीले सगुन नलिएको विषयलाई लिएर उनको हत्या गरिएको बयान आरोपितले दिएका छन्। 
श्रीमान कामको सिलसिलामा जिल्ला बाहिर गएको मौका छोपी बुहारीको हत्या गरेको उनीहरुले बताए। घरमा रहेका दुई जना नातीहरुलाई समेत मामा घरमा छोडेर राति हत्याको योजना बनाइ बोलेलाई दुबै मिलेर हत्या गरेको बयान प्रहरीलाई प्राप्त भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय दोलखामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोलेले १६ गते राति रक्सी खान असलमानको घरमा गएका बेला असलमान दम्पत्तिले २० हजार दिने आश्वासन दिएपछि आफु पनि साथी गएको स्वीकार गरे । 
 
उनले घरबाट करिव एक घण्टाको बाटो हिडेपछि बुहारी बसेको ठाउँमा पुगेर सुरुमा ससुरा असलमानले कोदालोले टाउकोमा हानेपछि बुहारी ऐया ऐया भनेर चिच्याउँदा सासुले कपाल भुतल्यार्इ बारीको कान्लोमुनी झारेको बताए । त्यसलगतै ससुराले टाउकोमा ढुङ्गा प्रहार गर्दा सास नगएपछि आफुले कोखमा लात्तीले हानेर मारेको उनले बयान दिए । 
 
आठ महिनाकी गर्भवती किशोरीलाई दर्दानक रुपमा हत्या गरेपछि भोलिपल्ट हत्यारालाई कारबाही माग गर्दै जाहेरी दिएर उनीहरुले जोगिने प्रयास गरेका थिए । स्थानीयबासीको सहयोगमा लामो अनुसन्धानपछि घटनाको रहस्य खुलेको प्रहरी निरीक्षक जीवन तामाङको भनाइ छ । 
 
लालुमायाको हत्यापछि मनिष वाइबा भक्तपुरको जगतेमा गएर बसेका थिए । भक्तपुर प्रहरीको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको दोलखा प्रहरीको भनाइ छ । घटनामा मृतकका पति चतुरमानको संलग्ना नरहेको प्रहरीले जनाएको छ । 
 
घटनामा संलग्नहरुलाई कर्तव्य ज्यान सम्वन्धी मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ । घटनाको अनुसन्धान गर्न जिल्लामा पहिलो पटक वैज्ञानिक पद्धति पोलिग्राफको प्रयोग गरी वयान लिइएको प्रहरीले जनाएको छ ।