दुबईबाट घर फर्कंदा न श्रीमती भेटेँ न छोरो

धादिङ (खाल्टे), वैशाख २२– केशवप्रसाद अवस्थी रोजगारीका सिलसिलामा सात वर्षदेखि दुबईमा थिए । भुइँचालोको दुःखद खबरपछि उनी भर्खरै घर फर्केका हुन् । ३२ वर्षीय अवस्थीले बिहे गरेको पाँच वर्ष भयो । दुई वर्षका छोरा थिए । भुइँचालोको खबर सुनेपछि केशवले घरमा फोन गरे, दुई–तीन दिनसम्म फोन लागेन । अन्ततः उनले थाह पाए, विनाशकारी भूकम्पले दुईवटा घर भत्कँदा उनको सर्वस्व लगेछ ।

‘पत्याउनै नसक्ने खबर सुनेँ, श्रीमती र छोरो रहेनन् भन्ने । घरमा आउँदा बहिनीको हात भाँचिएको छ । आमा घाइते हुनुहुन्छ,’ केशवले भने, ‘गाउँ नै ध्वस्त छ । भर्खरै बसेको घर ढलेको छ । खाने–बस्ने ठेगान छैन । केही सोच्न, सम्झन सकेको छैन ।’
बुवाआमा भएका काजकिरियामा नबस्ने मान्यता भएकाले केशवका बाबु बुहारी र नातिको किरिया बसेका छन् ।
धादिङ खाल्टे–६ को जोगीडाँडामा मात्रै भुइँचालोले दशजनाको ज्यान लिएको छ भने ३५ घर ढलेका छन् ।

जोगीडाँडा ध्वस्त छ । ७५ वर्षीया धुसाकुमारी भट्ट टाउकोमा हात राखेर रुखमुनि बसेकी छिन् । उनको मनमा चोट छ, गाउँका १० जनाले ज्यान गुमाएका छन् । उनको शरीरमा चोट छ, उनलाई भत्कँदै गरेका ढुंगाले शरीरभरि लागेका छन् ।
धुसाकुमारी जेठा छोराबुहारीसँग बस्छिन् । ‘छोराबुहारी मकै छर्न गएका थिए । म पिँढीको डिलमा थिएँ । उनीहरु आएर सँगै खाना खाउँला भनेर कुरेकी थिएँ । गुटुटुटु भुइँचालो आइहाल्यो । वरपरका घर भकाभक ढल्न थाले,’ धुसाकुमारीले भनिन्, ‘म भागेर आँगन पुगेँ, ढुंगा झरेर लाग्न थाले । घर्संदै आँगनबाट झरेँ । शरीर दुखेर मर्न आँटेकी छु ।’
अर्का लोकराज भट्ट भत्केको घरमा मकै खोस्रँदै थिए । ‘३९ घरमा ३५ घर ध्वस्त भए । त्यति नै धनसार र गोठ ढले । एकजना पाहुनासहित १० जनाले ज्यान गुमाए । पूरै गाउँको उठिबास भएको छ,’ लोकराज भन्छन्, ‘खाने अन्न, लगाउने लुगा पुरिएको छ । आफन्त गुमाउनेको पीडा उस्तै छ । मलामी जाँदाको लुगा फेरेर चोखो बन्न पाएका छौँ ।’
स्थानीय रामकृष्ण बिडारी भूकम्प आउँदा बारीमा थिएँ । उनले पछि थाहा पाएका हुन्, भुइँचालोको केन्द्रबिन्दु गोरखाको बारपाक हो, बारपाकलगायत थुप्रै जिल्लामा भूकम्पले ध्वस्त बनाएको छ भन्ने ।
‘पूरै गाउँका घर भटाभट ढल्न थाले । म बारीमै लटपटिएँ । धुलोले पूरै ढाक्यो, धर्ती त धामी हल्लिएझँै हल्लिएको थियो,’ रामकृष्ण भन्छन्, ‘मलाई त जोगीडाँडा नै भुइँचालोको केन्द्रबिन्दु हो जस्तो लागेको थियो । पछि थाहा पाएँ, देशैभरि विध्वंस गरेको रैछ ।’